राज्यलाई धेरै कर तिर्ने निजी क्षेत्रको पहिलो दूरसञ्चार कम्पनी एनसेलमा आगजनी भएको छ । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा एनसेलमा आगजनी, लुटपाट र चोरी भएको हो ।
एनसेलको लैनचौरमा रहेको केन्द्रिय कार्यालय जलाइएको छ । काम गर्न सक्ने अवस्था छैन् । अहिले कर्मचारीहरूले घरबाटै काम गरिरहेका छन् । परिसरमा रहेका २० बढी गाडीहरू जलेका छन् । १०औं तलासम्म पुगेर ल्यापटप, टिभी लगायत चोरी गरिएको छ ।
केन्द्रिय कार्यालयमा एनसेल सेन्टरमा समेत आगजनी र तोडफोड गरिएको छ । काठमाडौं उपत्यका बाहिर पोखरा, धनगढी र महेन्द्रनगरको कार्यालयमा पनि क्षति पुगेको छ ।
आठौं राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा एनसेलले सरकारले धेरै कर तिर्ने आइसिटी कम्पनीको रूपमा सम्मान गरेको थियो । नेपालको दूरसञ्चार विकासमा ठूलो योगदान पुर्याएको एनसेल पटक पटक आक्रमणको शिकार हुँदै आएको छ । तर यस पटक त केन्द्रिय कार्यालय नै जल्यो ।
बुहुराष्ट्रिय कम्पनीमा यसरी आक्रमण हुँदा वैदेशिक लगानी घट्ने जोखिम रहेको विज्ञहरूले बताउँदै आएका छन् ।
सरकारले दूरसञ्चार सेवालाई अत्यावश्यक सेवामा समावेश गरेको छ । तर पनि पटक पटक त्यही अत्यावश्यकसेवामा आक्रमण भइरहन्छ ।
पटक पटकको आक्रमणबाट उठ्दै नागरिकलाई गुणस्तरीय सेवा दिनमा कम्पनी तल्लिन छ । यस पटक पनि आफ्नो केन्द्रिय कार्यालय जलिरहँदा एनसेलले नागरिकहरूलाई ३ दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा दिइरहेको थियो ।
एनसेलको केन्द्रिय कार्यालय लैनचौर भएपनि डेटा सेन्टर भने नख्खुमा रहेको छ, जसले गर्दा सेवा प्रवाहमा कुनै समस्या आएन । त्यसैले आफु जलिरहँदा पनि नागरिकलाई निरन्तर सेवा प्रवाह गर्न सफल भएको थियो ।