कीवर्डहरू -

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल सङ्ग्रहालय विमोचन

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल सङ्ग्रहालय विमोचन

एनसेल फाउण्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार सङ्ग्रहालयको साझेदारीमा सङ्ग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अभ्यास र इतिहासका विभिन्न पक्षहरू समेटिएको अनुसन्धानमूलक जर्नल “सङ्ग्रहालय” विमोचन गरिएको छ । 

नारायणहिटी दरबार सङ्ग्रहालयमा आज आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नलको विमोचन गरे । मन्त्री पाण्डेले नेपालको सङ्ग्रहालयका विभिन्न आयाम उल्लेख गरी भएको जर्नल प्रकाशन उत्कृष्ट प्रयास भएको उल्लेख गर्दै जर्नल प्रकाशनमा एनसेल फाउण्डेसनको सहयोगले संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिताको प्रशंसा गरे । 

मन्त्री पाण्डेले हाल सङ्ग्रहालयहरूको दर्ता, मापदण्ड तथा व्यवस्थापनका सम्बन्धमा सरकारले नीतिगत तहमा काम गरिरहेको जानकारी दिए । उनले नेपालका सङ्ग्रहालय र त्यहाँ राखिएका सामग्रीले नेपालीको गर्व बढाएको बताए ।

“कला र संस्कृति हाम्रा पहिचान हुन्, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । संस्कृति र सम्पदाको प्रवर्द्धन गर्न आइकम नेपालसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारीअन्तर्गत यो महत्त्वपूर्ण कार्यक्रम गर्न पाएकामा हामी खुसी छौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् । 

 उनले नेपाली कला र सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा संवर्द्धन एनसेल फाउण्डेसनको प्राथमिकतामा रहेको उल्लेख गरिन् । त्यस अवसरमा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोइले सांस्कृतिक प्रवर्द्धन, सामुदायिक छलफल र शिक्षाका लागि नेपालका सङ्ग्रहालयले भूमिका खेलेको उल्लेख गर्दै सङ्ग्रहालय संस्कृतिको थप विकास गर्नुपर्ने आवश्यकता औँल्याए । 

इन्टरनेशनल काउन्सिल फर म्युजियम (आइकम) नेपालका अध्यक्ष रमेशप्रसाद दवाडीले आइकमले नेपालमा सङ्ग्रहालयको दायरा फराकिलो पार्दै संस्कृति संरक्षणमा काम गर्ने बताए ।

उक्त जर्नल एनसेल फाउण्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद्को नेपाल  शाखा आइकम नेपालले नारायणहिटी दरबार सङ्ग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको एक वर्षे परियोजना “सङ्ग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवर्द्धन” अन्तर्गत प्रकाशन गरिएको हो ।

परियोजनामा सङ्ग्रहालयको महत्वबारे जनचेतना फैलाउने, सङ्ग्रहालयकर्मीलाई तालिम दिने र सङ्ग्रहालय सम्बन्धी स्रोत सामग्री निर्माण तथा प्रसार गर्ने मुख्य क्रियाकलाप कार्यान्वयन गरिएको थियो ।

परियोजनाअन्तर्गत सङ्ग्रहालयको आधारभूत मान्यता र अन्तर्राष्ट्रिय अभ्यासका प्रमुख पक्ष समेटेर एक जानकारीमूलक पुस्तिका तयार पारी देशभरका सङ्ग्रहालय तथा सम्पदासँग सम्बन्धित संस्थालाई वितरण गरिएको छ ।

आइकम नेपालका अध्यक्ष दवाडीले परियोजनामार्फत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक सयभन्दा बढी सङ्ग्रहालयकर्मीलाई सङ्ग्रहालयको आधारभूत मान्यता र अभ्याससम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिए। 

यो तालिम सङ्ग्रहालय, प्रदेश, स्थानीय र सङ्घीय सरकारका सम्बन्धित निकायसँग समन्वय गरी सञ्चालन गरिएकाले तीन वटै तहका सरकार तथा समुदाय र निजी सङ्ग्रहालयलाई जोडेर सङ्ग्रहालयका आधारभूत विषयमा  छलफल समेत गर्न सहयोग पुर्‍याएको जनाइएको छ । 

यसले गर्दा आगामी दिनमा सङ्ग्रहालयका वृत्त र विषयवस्तुलाई सङ्ग्रहालयकर्मीबिच छलफल गर्ने आधार समेत बनेको त्यस अवसरमा उल्लेख गरियो । तालिममा सङ्ग्रहालय सञ्चालनका अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको आवश्यकता र सङ्ग्रहालयले गर्न सक्ने र गर्नुपर्ने  विषयमा छलफल गरिएको थियो । 

परियोजनाअन्तर्गत नेपालको पहिलो सङ्ग्रहालय स्थापना भएको समयदेखि हालसम्मको इतिहास र सो अवधिको यात्रा देखाउने श्रव्य–दृश्य वृत्तचित्र  निर्माण पनि सम्पन्न भएको छ ।

वृत्तचित्रले सङ्ग्रहालयको इतिहास र अहिलेको अवस्थालाई समावेश गरेको छ । आइकम नेपालले यो परियोजना नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वय तथा स्थानीय र प्रदेश सरकारहरूको सहकार्यमा कार्यान्वयन गरेको हो । 

यस पहलले दिगो विकासका लक्ष्य, नेपाल सरकारको संस्कृति तथा सङ्ग्रहालयसम्बन्धी राष्ट्रिय नीति र स्थानीय सरकारलाई संविधानले दिएको सङ्ग्रहालय सञ्चालनसम्बन्धी अधिकार प्रवर्द्धनमा टेवा पुर्‍याएको सरोकारवालाहरूको धारणा छ । 

सरकार, निजी क्षेत्र र स्थानीय समुदायबिचको सहकार्यमा सम्पन्न परियोजनाले नेपालमा सङ्ग्रहालय र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । 

कार्यक्रममा सहभागीले यस किसिमका प्रभावकारी परियोजनालाई भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार एनसेल फाउण्डेसन र आइकम नेपालबिचको साझेदारीले निजी क्षेत्रका अन्य संस्थालाई पनि सम्पदा संरक्षण र प्रवर्द्धनमा संलग्न हुन प्रेरित गर्नेछ ।