नसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगिताको ग्रान्ड फिनाले यही शुक्रबार असार २७ गते हुँदै छ । फिनालेबाट देशभरीबाट छानिएका उत्कृष्ट ५० जना क्रिएटर्स मध्ये उत्कृष्ट एक पुरस्कृत हुनेछ ।
निर्णायक मन्डलले आइतबार आफ्नो रिभ्यू सेसन सकाएको एनसेलले जानकारी दिएको छ । निर्णायक मन्डलमा नेपालका लागि अमेरिकी राजदुतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की रहेका छन् ।
कन्टेन्ट क्रियसनमा लागेका विशेष गरी युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्यसहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने क्रिएटरले पुरस्कारका रुपमा एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउने छ ।
सहभागी प्रतियोगिहरुलाई चर्चित क्रिएटरहरू तथा यस प्रतियोगिताका मेन्टरहरु सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले मार्गदर्शन प्रदान गरेका छन् । सहभागीहरुले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीतिलगायतका बारेमा प्रशिक्षण पाएका थिए ।
प्रतियोगिता संचालनको तालिका अनुसार ‘लीग अफ क्रिएटर्स’का पाँच जना मेन्टरहरुले छानिएका उत्कृष्ट ५० जनालाई मेन्टरशीप प्रदान गरिसके पछि निर्णायक मन्डलले आफ्नो रिभ्यु गरेको हो ।
के भन्छन् निर्णायकहरू ?
सिमोश सुनुवार
“सबै भिडियोहरु इम्प्रेसिभ लाग्यो । प्रोफेसनलदेखि एम्मेच्योर लेभलसम्मको भएकोले केही भिन्नताहरु छन् तर केही भिडियोहरु यस्ता छन् जसले हामी सबै निर्णायक मन्डलका सदस्यहरुलाई राम्रो छाप छोडेको छ,” सुनुवारले भने । उनी एक प्रखर भिजुअल स्टोरीटेलर हुन् । उनले आफ्नो सिर्जनात्मक यात्रा संगीतबाट सुरु गरेका थिए र हाल उनी चलचित्र निर्माण जगतमा व्यस्त छन् । उनले ‘रोडिज नेपाल’ र ‘शार्क ट्यांक नेपाल’ जस्ता रियालिटी सो कार्यक्रमहरुमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।
माइक हार्कर
“म विज्ञापन निर्माणको पृष्ठभूमिबाट आएको व्यक्ति हुँ । प्रतियोगितामा सहभागी भिडियोका मौलिकता, सिर्जनात्मकता र प्राविधिक गुणस्तर देखेर म अत्यन्तै प्रभावित भएको छु । म भविष्यमा पक्कै पनि यस्ता क्रिएटरहरुसँग काम गर्न चाहन्छु,” उनले भने । दूतावासको सञ्चार कार्यलगायत शैक्षिक, सांस्कृतिक तथा आर्थिक अवसरसँग सम्बन्धित कार्यक्रम हेर्ने हार्करले केही महिना अघि इटहरी र पोखरामा आयोजित ‘क्रिएटर्स मेला’ को आयोजनामा महत्वपूर्ण भूमिका खेलेका थिए ।
पुनम सिंह
“केही भिडियोहरु साँच्चै राम्रा छन् किनभने ती भिडियोहरूमा स्टोरीटेलिङ् उत्कृष्ट थिए, क्यामेरा कार्य पनि राम्रो थियो र सन्दर्भ पनि राम्रोसँग बुझेका थिए । अन्य सहभागीहरुले अझै सुधार गर्ने सम्भावना राख्छन् । मलाई आशा छ सहभागीहरुले भविष्यमा झनै उत्कृष्ट सामग्रीहरु ल्याउनेछन्” सिंहले भनिन् । कन्टेन्ट क्रियशन आजको अर्थतन्त्रमा सबैभन्दा ठूलो अवसरहरूमध्ये एक हो भन्ने कुरामा उनी दृढ विश्वास गर्छिन् ।
मोनायक कार्की
“यो प्रतियोगितामा हामीले विभिन्न प्रकारका भिडियो कन्टेन्टहरु पाएका छौं । विजेताको होला भनेर म एकदमै उत्सुक छु किनभने चारजना निर्णायक मन्डलका सदस्यहरूले यी भिडियोहरूलाई विभिन्न पक्षहरू जस्तै सिर्जनात्मक पक्ष, प्राविधिक कार्यान्वयन आदि पक्षलाई लिएर मूल्याङ्कन गरेका छन्,” कार्कीले भने । इन्फ्लुएन्सर मार्केटिङमा ८ वर्षभन्दा बढीको अनुभव बटुलेका कार्कीले रणनीति निर्माणदेखि कार्यान्वयनसम्मको नेतृत्व गर्दै १,००० भन्दा बढी इन्फ्लुएन्सरहरूसँग सहकार्य र १०० भन्दा बढी ब्रान्डहरूसँग साझेदारी गरेका छन् ।