कीवर्डहरू -

एनसेल नेपाल सुपर लिगको टिकेटिङ पार्टनरमा खल्ती र आइएमई पे

एनसेल नेपाल सुपर लिगको टिकेटिङ पार्टनरमा खल्ती र आइएमई पे

देशको पहिलो र एकमात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग, एनसेल नेपाल सुपर लिग (एनएसएल) आफ्नो बहुप्रतिक्षित तेस्रो सिजनको लागि खल्ती र आइएमई पेलाई आधिकारिक टिकटिङ पार्टनरको रूपमा घोषणा गरेको  छ ।  

एनएसएल, खल्ती र आइएमई पेबीचको त्रिपक्षीय सम्झौता मार्फत स्थापित साझेदारी अन्तर्गत खेलका टिकटहरू डिजिटल रूपमा प्रदान गरिनेछ जुन नेपालका उत्साही फुटबल प्रशंसकहरूका लागि अर्को अभूतपूर्व अनुभव हुनेछ ।

मार्च २९ देखि तेस्रो सिजन सुरु हुने तय भएको लिगले टिकट खरिदलाई सजिलो, पहुँचयोग्य र सुविधाजनक बनाएर फ्यान अनुभव बढाउने लक्ष्य राखेको छ। समर्थकहरूले खल्ती र आइएमई पे मार्फत डिजिटल वालेट, मोबाइल बैंकिङ र अनलाइन भुक्तानीका माध्यमहरू प्रयोग गरी भौतिक लेनदेन बिना नै खेलका टिकटहरू तुरुन्तै किन्न सक्नेछन्।

खेलको पहुँचलाई आधुनिकीकरण गर्ने र देशभरका नेपाली फुटबल प्रशंसकहरूका लागि लिगलाई अझ बढी पहुँचयोग्य बनाउने एनएसएल को दृष्टिकोण अन्तर्गत यो साझेदारी गरिएको हो ।

यसको सहकार्यको बारेमा बोल्दै नेपाल सुपर लिग एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीले यो साझेदारीले टिकेटिङलाई सरल बनाउने र फ्यानहरूलाई आफ्नो सिट सहजै सुरक्षित गर्न सघाउने छ । 

यहि भावनालाई जोड दिँदै आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले पनि नेपाल सुपर लिगको साझेदारको रूपमा नेपाली फुटबलको विकासलाई समर्थन गर्दै सिमलेस डिजिटल सोलुसन्स मार्फत फ्यान एक्सपिरियन्स बढाउने लक्ष्य राखेका जानकारी दिए । 

यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले आफैं पनि खेलकुद प्रशंसक र फुटबल समर्थक भएका कारण फ्यानहरूलाई अनलाइनमार्फत आफ्नो सिट सुरक्षित गर्न र खेलको भावनामा पूर्ण रूपमा डुब्नको लागि झन्झटमुक्त, सहज तरिका प्रदान गगर्ने बताए ।

 अनलाइन कारोबारमा यी प्लेटफर्मको विशेषज्ञताले टिकेटिङलाई अझ सुव्यवस्थित बनाउनुका साथै हजारौं एनएसएल समर्थकहरूको लागि म्याच डे अनुभवलाई पनि अझ बढाउने विश्वास गरिएको छ ।

खल्ती र आइएमई पेले चाँडै नै टिकट बुकिङ गर्न थाल्ने छन् । खेलहरूको रोमाञ्चक लाइनअप, उत्सुक समर्थक र अब हाई-टेक टिकेटिङ प्रणालीले गर्दा यो सिजन अहिलेसम्मकै सबैभन्दा ठूलो हुने दावी गरिएको छ ।