कीवर्डहरू -

एनसेलले भन्योः शेयर खरिदका लागि प्रतिस्पर्धाबाटै स्पेक्ट्रलाइट छानिएको हो

एनसेलले भन्योः शेयर खरिदका लागि प्रतिस्पर्धाबाटै स्पेक्ट्रलाइट छानिएको हो

एनसेलले प्रतिस्पर्धाबाटै एनसेलको शेयर स्पेक्ट्रलाइट युकले खरिद गरेको जनाएको छ । आजियाटाले आफ्नो शेयर बिक्री गर्न प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको र त्यसबाट शतिश लाल आचार्यको लगानी रहेको स्पेक्ट्रलाइट पहिलो भएर छानिएको एनसेलको भनाइ छ ।

‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो,’ एनसेलले जारी गरेको विज्ञप्तीमार्फत शतिश लाल आचार्यले भनेका छन्, ‘स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो । शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेतामार्फत निर्धारण गरिएको हो ।’

यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिने एनसेलले जानकारी दिएको छ । 

सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ । यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीेले निश्चित समयावधीभित्र प्राप्त गर्ने एनसेलको दावी छ ।

ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने र उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको पनि एनसेलले जनाएको छ ।