काठमाडौं । नेपाली प्रविधि कम्पनी एनच्याटले कोडिङ वा प्राविधिक ज्ञानबिना आफ्नै डिजिटल एप तथा मिनी एप निर्माण गर्न सकिने एआई बिल्डर सुविधा सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार एआई बिल्डरमार्फत व्यवसायी, विद्यार्थी, स्टार्टअप तथा विभिन्न संस्थाले आफ्नो आवश्यकता र उद्देश्यअनुसार डिजिटल समाधान निर्माण गर्न सक्नेछन् । सामान्य प्रयोगकर्ताले समेत आफ्ना विचारलाई सहज रूपमा डिजिटल उत्पादनमा रूपान्तरण गर्न सकून् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको एनच्याटले जनाएको छ ।
एनच्याटको प्लेटफर्ममा उपलब्ध बिल्डरमार्फत व्यापारिक एप, विद्यालय व्यवस्थापन प्रणाली, रेस्टुरेन्ट प्रणाली, सामुदायिक प्लेटफर्म, कम्पनीका आन्तरिक उपकरण तथा स्टार्टअपका लागि आवश्यक डिजिटल समाधान निर्माण गर्न सकिने कम्पनीको भनाइ छ ।
विशेषगरी नेपालका साना तथा मझौला व्यवसाय, विद्यार्थी, उद्यमी तथा सिर्जनाकर्ताका लागि एआई बिल्डर उपयोगी हुने अपेक्षा कम्पनीले गरेको छ । सामान्यतया एप वा वेबसाइट निर्माण गर्न विकासकर्ता, प्राविधिक ज्ञान तथा अतिरिक्त खर्च आवश्यक पर्ने भए पनि एआई र ‘नो-कोड’ प्रविधिको प्रयोगमार्फत उक्त प्रक्रियालाई सरल बनाउने लक्ष्य एनच्याटले लिएको छ ।
कम्पनीले एआई बिल्डरलाई व्यावसायिक प्रयोजनमा मात्र सीमित नराखी विद्यार्थी तथा युवालाई आफ्ना समुदायमा देखिएका समस्या पहिचान गरी त्यसको डिजिटल समाधान निर्माण गर्नसमेत प्रयोग गर्न सकिने अवधारणा अघि सारेको छ ।
एनच्याटका अनुसार यसले विद्यार्थीलाई प्रविधिको प्रयोगकर्ता मात्र नभई समस्या पहिचान गर्ने र त्यसको समाधान निर्माण गर्ने ‘निर्माता’का रूपमा विकास गर्न सहयोग पुर्याउनेछ ।
एनच्याट अहिले सन्देश आदानप्रदान, भ्वाइस तथा भिडियो कल, समुदाय र मिनी एपलगायत विभिन्न डिजिटल सेवाहरूलाई एउटै पारिस्थितिक प्रणालीमा जोड्ने उद्देश्यसहित अघि बढिरहेको छ ।
कम्पनीको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार एनच्याटको बिल्डरमा कोड लेख्नुपर्ने आवश्यकता छैन । प्रयोगकर्ताले आफ्नो अवधारणा वा आवश्यकताका आधारमा एप निर्माण गर्न सक्ने र निर्माण प्रक्रिया करिब १० मिनेटभित्र सुरु गर्न सकिने कम्पनीले जनाएको छ ।
आईसीटी समाचार