कीवर्डहरू -

एनसीएचएलका सीईओ प्रधान ‘म्यानेजर अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

एनसीएचएलका सीईओ प्रधान ‘म्यानेजर अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

 नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानलाई नेपाल व्यवस्थापन संघ (एनएमए) द्वारा आयोजित ४५औँ नेसनल म्यानेजमेन्ट कनभेन्सन २०२६ का अवसरमा ‘म्यानेजर अफ द इयर २०२५’ अवार्डबाट सम्मानित गरिएको छ ।

प्रधानलाई नेपालको डिजिटल भुक्तानी प्रणालीको विकासमा पुर्याएको उल्लेखनीय योगदान तथा उनको नेतृत्वमा एनसीएचएलले स्थापना तथा सञ्चालन गर्दै आएको विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरूको प्रभावलाई कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

उनको नेतृत्वमा एनसीएचएलले एनसीएचएल ईसीसी, एनपीएस, रिटेल पे, कनेक्ट आईपीएस, क्यूआर कोड, क्रस–बोर्डर पे, कार्ड, इफ्ट स्विच, आरटीजीएस लगायत १० भन्दा बढी राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ, जसले डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

सन् २०११ मा एनसीएचएलको कार्यभार सम्हालेका प्रधानले चेक क्लियरिङ प्रणालीबाट सुरुआत गरी संस्थालाई हाल नेपालको भुक्तानी पूर्वाधारको मेरुदण्डका रूपमा स्थापित गर्न सफल भएका छन् ।

नेपाल व्यवस्थापन संघले हरेक वर्ष व्यवस्थापन क्षेत्रमा अतुलनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वलाई ‘म्यानेजर अफ द इयर’ अवार्ड प्रदान गर्दै आएको छ ।

सोही कार्यक्रममा नेपालमा उल्लेखनीय योगदान पुर्याएका डा. युवराज खतिवडालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो ।