नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरू मार्फत पौष मसान्तको अन्तिम दिन रु.८४ अर्ब भन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौट गरेको जनाएको छ । गत वर्षको सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार सङ्ख्याको आधारमा ६० प्रतिशत र रकमको आधारमा ७० प्रतिशतले वृद्धि भएको हो ।
एनसीएचएलका प्रणालीहरू मध्ये एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस र आरपीएस मार्फत क्रमशः ४१ अर्ब, १४ अर्ब र २९ अर्ब रूपैयाँ बराबरको भुक्तानी कारोबार उक्त एक दिनमा फर्छ्यौट भएको हो ।
विद्युतीय भुक्तानीको स्वीकार्यता सँगै आरपीएसअन्तर्गत कनेक्ट आईपीएस (वेब, एप तथा गेटवे), कर्पोरेटपे , बैंक शाखाहरू, मोबाइल बैंकिङ, वालेट तथा एनपीआई सँग जोडिएका विभिन्न च्यानलहरू मार्फत रियल टाइम भुक्तानीको सङ्ख्यामा अधिकतम वृद्धि भएको देखिएको नेपाल क्लियरिङ हाउसले जनाएको छ ।
त्यस्तै पौष मसान्तको अन्तिम दिनमा डिजिटल च्यानलमार्फत १.६ अर्ब बराबरको राजस्व संकलन तथा ६.८ अर्ब रूपैयाँ बराबरको सरकारी खर्च सम्बन्धी १ लाख २५ हजार भन्दा बढी भुक्तानी कारोबारहरू भएको जनाइएको छ ।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको नितिगत पहलहरूले नेपालको विद्युतीय भुक्तानीमा उल्लेख्य परिवर्तन आएको एनसीएचएलले जानकारी दिएको छ ।