नेपाल बिमा प्राधिकरणले माघ १ गतेदेखि सबै प्रकारका बिमा भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था मिलाउन सबै बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले जीवन बिमा, निर्जीवन बिमा, लघुबिमा, पुनर्बिमा कम्पनी तथा बिमा दलालहरूलाई परिपत्र जारी गर्दै दाबी भुक्तानी, कमिसन, शुल्क लगायतका सबै प्रकारका भुक्तानी सम्बन्धित व्यक्ति वा संस्थाको बैंक वा वित्तीय संस्थामा रहेको खातामा अनिवार्य रूपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको हो।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन, २०८२ अनुसार बिमालेखअन्तर्गत दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा बिमालेखका सर्त वा प्रचलित कानुनबमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा रकम जम्मा हुने गरी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी बैंकिङ प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा बिमा क्षेत्रमा पनि उक्त प्रणाली पूर्ण रूपमा लागू गर्न प्राधिकरणले निर्देशन दिएको जनाएको छ।
प्राधिकरणका अनुसार यस व्यवस्थाले बिमा कारोबारलाई थप पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउने, वित्तीय अनुशासन कायम गर्ने तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
आईसीटी समाचार