कीवर्डहरू -

मिरा ईआरपी बारे प्रकाशित समाचारप्रति नियोसिस टेक्नोलोजीको ध्यानाकर्षण

सहकारीलाई प्रभावकारी सेवा दिएको भनाइ

मिरा ईआरपी बारे प्रकाशित समाचारप्रति नियोसिस टेक्नोलोजीको ध्यानाकर्षण

डिजिटल सञ्चार माध्यममा अनलाइनखबरमा प्रकाशित मिरा ईआरपी समाचारप्रति मिरा सफ्टवेयर विकास गर्ने कम्पनी नियोसिस टेक्नोलोजीले ध्यानाकर्षण जनाएको छ । 

‘साढे ४ करोडको सफ्टवेयर काम नलाग्ने, घाटामा देखाउनुपर्ने रकम नाफामा लेखांकन’ भन्ने विषयमा प्रकाशित समाचार बारे नियोसिस टेक्नोलोजीले आपत्ति जनाउँदै सहकारीलाई प्रभावकारी सेवा प्रदान गरिरहेको बताएको हो । 

आईएसओ सर्टिफाइड मिरा ईआरपी सफ्टवेयरलाई निःशुल्क रुपमा सफ्टवेयर जडान, माइग्रेसन, सपोर्ट, तालिम, क्लाउड डाटा ब्याकअप, मोबाइल बैंकिंङ एप्लीकेसन, इ-बैंकिंङ, एसएमएस बैंकिंङ, बजार प्रतिनिधिहरुले प्रयोग गर्ने एप्लीकेसन आदि उपलब्ध गराई सहकारीहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेको कम्पनीको भनाइ छ । 

बिक्री वितरण सुरू भएको ९ महिनाभित्र १६० सहकारी संस्था तथा ९ वटा केन्द्रीय संघ तथा जिल्ला बचत संघहरूले प्रयोग गरिरहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 
१ लाख ७८ हजार ९९६ व्यक्तिगत शेयर सदस्य संख्या र ५ हजार ३६० संस्थागत शेयर सदस्यहरूले मिरा सफ्टवेयर प्रयोग गरिरहेका छन् । 

यसैगरी मिरा सफ्टवेयरले हालसम्म ६ करोड ११ लाख ५९ हजार ५८ कारोबारको गनणा गरिसकेको कम्पनीको दावी छ । २१९ सेवा केन्द्र रहेको मिरामा कुल बचत खाता संख्या ३ लाख ५० हजार ९४ र कुल ऋण खाता संख्या ४३ हजार २८५ रहेको विज्ञप्तीमार्फत कम्पनीले जनाएको छ ।