ललितपुरमा जन्मिएका अजर राजभण्डारी ‘फोर्ब्स ३० अन्डर ३० (रिटेल एण्ड ई–कमर्स) २०२६’ सूचीमा सूचीकृत भएका छन्। अमेरिकामा ई-कमर्स चलाइरहेका उनी छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेका हुन्।
अजरले स्थापना गरेको कम्पनी ‘हर्ड (Herd)’ ले सञ्चालनको एक वर्षभन्दा अलि बढी अवधिमै करिब १ करोड ५० लाख अमेरिकी डलर (१५ मिलियन डलर) बराबरको बिक्री गर्न सफल भएको छ। यति छोटो समयमा हासिल गरिएको यो उपलब्धिलाई युवा उद्यमशीलताको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।
हर्डले मिनी माइक प्रो (Mini Mic Pro) माइक्रोफोन, सौन्दर्य सामग्री तथा विभिन्न इलेक्ट्रोनिक एक्सेसोरीज जस्ता नवीन उत्पादनहरू बजारमा ल्याउँदै आएको छ। यी उत्पादनहरू अमेजन, वालमार्ट र टार्गेटजस्ता विश्वका ठूला खुद्रा प्लेटफर्ममार्फत बिक्री हुँदै आएका छन्।
कम्पनीले आपूर्ति शृंखला व्यवस्थापन, ग्राहक सेवा तथा डेटा विश्लेषणमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गर्दै व्यवसायलाई अझ प्रभावकारी बनाएको छ। यही प्रविधिमैत्री रणनीतिले हर्डको तीव्र वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
भविष्यमा अन्तर्राष्ट्रिय बजारसँगै नेपाली बजारमा पनि विस्तार गर्ने लक्ष्य लिएका अजर राजभण्डारीले रोजगारी सिर्जना गर्नुका साथै विश्वभर रहेका नेपाली युवाहरूलाई उद्यमशीलतातर्फ प्रेरित गरिरहेका छन्। उनको सफलताले नेपाली युवाहरूले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना उजागर गरेको छ।
आईसीटी समाचार