कीवर्डहरू -

अन्य उद्योगभन्दा सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्छः मन्त्री शर्मा

अन्य उद्योगभन्दा सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने बताएकी छन् ।

शुक्रबार द सोल्टी काठामाडौंमा आयोजना भएको अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभमा बोल्दै प्रमुख अतिथि शर्माले अन्य उद्योग धन्दाभन्दा सूचना प्रविधिको क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने बताइन् । 

सूचना प्रविधिको सेवा निर्यात गरेर अर्बौं रकम आम्दानी गरेको उदाहरण दिदै  उनले अगाडि भनिन, ‘अन्य उद्योगधन्दा खोल्यो भने विश्वसँग प्रतिस्पर्धासँग गर्न गार्‍हो छ तर सूचना प्रविधि उद्योगमा हामी विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौं । यसको पुष्टि पनि भइसकेको छ ।’ 

देशको आर्थिक रूपान्तरणका लागि सूचना प्रविधिको विकास आवश्यक भएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै शर्माले सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा काम गर्ने आईसीटीले अवार्डले हौसला प्रदान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा देखाउन सघाउने जानकारी दिइन् ।

डिजिटल रूपान्तरण र डिजिटल इकोसिस्टम विकासमा आईसीटी अवार्डले सहयोग गर्ने बताउँदै शर्माले सरकारले पनि सूचना प्रविधिलाई प्राथमिकता दिएको बताइन् । ‘गैर सरकारी क्षेत्रबाट आईसीटी अवार्डले गरिरहेको काम प्रशंशायोग्य छ,’ मन्त्री शर्माले भनिन, ‘सरकारले पनि पछिल्लो समय सूचना प्रविधिलाई प्राथमिकतामा राखेको छ । मन्त्रालयले पनि सूचना प्रविधिको विकास र विस्तारका लागि काम गरिरहेको छ ।’ 

आईसीटी क्षेत्रको विकासका लागि समान्य सुधारले मात्रै नपुग्ने अवगत गराउँदै उनले कानुनी र संरचनागत आधार निर्माण गर्ने मन्त्रालयले काम गरिरहेको जानकारी दिइन् । 

२०७६ सालमा सरकारले स्वीकृत गरेको डिजिटल नेपाल फ्रेमवर्कले आशातित गती लिन नसकेको उनले बताइन् । त्यसका लागि १६ औं योजनामा डिजिटल नेपाल फ्रेमवर्कलाई पुनरावलोकन गरेर राख्ने तयारी गरेको समेत जानकारी दिइन् । डिजिटल नेपाल एक्सिलेरेसन परियोजनाका लागि अर्थमन्त्रालयबाट सहमति दिएको जानकारी दिदै उनले अब त्यसबाट विभिन्न कार्यक्रम अगाडि बढाउने बताइन् ।

सरकारले समेत स्टार्टअप, इन्नोभेस र सूचना प्रविधिमा जोड दिएको र आईसीटी एक्जिबिनस, डिजिटल च्याम्पियन र डिजिटल सीप विकास गर्ने कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ । 

उनले दशमै सूचना प्रविधि जनशक्ति राख्न कार्यक्रम आवश्यक भइसकेको बताइन् । ‘हामीले दक्षशक्ति उत्पादनमा जोड दिनुपर्छ । दक्ष जनशक्तिलाई देशमै राख्नुपर्छ,’ उनले भनिन्, ‘दक्ष जनशक्तिलाई देशमै राख्न कार्यक्रम अगाडि बढाउने सोचेका छौं । डिजिटल सीप अभिवृद्धि गर्ने तालिम दिने मन्त्रालयको योजना छ । त्यसका लागि अहिले कार्यविधि बनिरहेको छ ।’