नेपाल फिनटेक एक्स्पो २०२६ सुरू भएको छ। फिनटेक अलायन्स नेपालको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुक्रबारदेखि एक्स्पो सुरू भएको हो। एक्स्पो शनिबारसम्म सञ्चालन हुनेछ।
एक्स्पोमा डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, इम्बेडेड फाइनान्स, साइबर सुरक्षा, क्लाउड बैंकिङ, कृत्रिम बुद्धिमत्ता, ब्लकचेन तथा अन्य उदीयमान प्रविधिहरूलाई एउटै छानामुनि अवलोकन गर्न सकिनेछ।
बैंक तथा वित्तीय संस्था र टेक इन्नोभेटर्सलाई एकै स्थानमा ल्याएर सहकार्य, आइडिया आदान–प्रदान र नयाँ सिनर्जी सिर्जना गर्ने उद्देश्यले फिनटेक एक्स्पो आयोजना गरिएको फिनटेक अलायन्स नेपालका उपाध्यक्ष देवेन्द्र खड्काले बताए।
‘बैंक तथा वित्तीय संस्था र टेक इन्नोभेटर्सलाई एकै ठाउँमा ल्याएर आइडिया आदान–प्रदान गर्ने र सहकार्यमार्फत नयाँ सिनर्जी सिर्जना गर्नु हाम्रो उद्देश्य हो,’ उनले आइसिटी समाचारसँग भने, ‘राजनीतिक परिवर्तनका कारण कार्यक्रम कस्तो हुने होलाजस्तो दोधारमा थियौं। तर अवलोकनकर्ताको उत्साहजनक उपस्थितिले हामी उत्साहित छौं। सबैले कार्यक्रमको प्रशंसा गर्नुभएको छ।’

कार्यक्रमको पहिलो दिन शुक्रबार अवलोकनकर्ताको उल्लेखनीय सहभागिता देखिएको थियो। शनिबार विदाको दिन भएकाले अवलोकनकर्ताको संख्या अझै बढ्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
एक्स्पोमा ६८ भन्दा बढी स्टल रहनेछन्। साथै, स्टार्टअप तथा टेक कम्युनिटीका लागि छुट्टै जोनको व्यवस्था गरिएको छ।
एक्स्पो अवलोकनका लागि सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्डलगायत नियमनकारी निकायका कर्मचारीले आधिकारिक परिचयपत्र देखाएर निःशुल्क प्रवेश पाउनेछन्।

आयोजकका अनुसार एक्स्पोमा बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी, स्टार्टअप र नियामक निकायका प्रतिनिधिसहित ४ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।

आईसीटी समाचार