कीवर्डहरू -

राष्ट्र बैंकले सन् २०२६ सम्ममा डिजिटल मुद्राको पाइलट परीक्षण गर्ने, प्रोटोटाइप तयार

राष्ट्र बैंकले सन् २०२६ सम्ममा डिजिटल मुद्राको पाइलट परीक्षण गर्ने, प्रोटोटाइप तयार

नेपाल राष्ट्र बैंकले सन् २०२६ सम्ममा केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) को पाइलट परीक्षण गर्ने भएको छ । २०७७-२०८१ सम्ममा राष्ट्र बैंकबाट भएका कार्य तथा उपलब्धिहरूको प्रगति प्रतिवेदनमा सीबीडीसीको प्रोटोटाइप तयार भएको र सन् २०२६ सम्ममा सीबीडीसीको पाइलट परीक्षण गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ । 

नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंक विद्युतीय मुद्राको विकासको लागि  केन्द्रीय बैँक विद्युतीय मुद्रा महाशाखा गठन गरेर काम गरिरहेको छ  । यसका लागि भुक्तानी प्रणाली विभाग अन्तर्गत रहने गरी निर्देशकको नेतृत्वमा प्राविधिक जनशक्ति समेत खटाइएको छ । 

केन्द्रीय बैंक विद्युतीय मुद्राको कार्यान्वयन पाँच चरणमा गर्ने राष्ट्र बैंकको योजना अनुसार सीबीडीसी विकासको क्रममा पहिलो चरणमा रिटेल, होलसेल वा सीमापार भुक्तानीमा प्रयोग गर्न त्यसको प्रयोग क्षेत्र पहिचान गर्ने तथा डिजाइन क्यारेक्ट्रिस्टिक्स र नीतिगत उद्देश्य निर्धारण गर्ने कार्य भईरहेको छ । 

सीबीडीसीसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरोकारवाला निकायहरूसँग गरिएको अन्तरक्रियाबाट प्राप्त सुझावहरूको विस्तृत विश्लेषण गरी यस सम्बन्धी कार्य अघि बढाइएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

साथै सीबीडीसी जारी गर्ने सम्बन्धमा आवश्यक परामर्शका लागि बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राविधिक सहायतासमेत प्राप्त गरेको छ । दोस्रो र तेस्रो चरणको कार्य अन्तर्गत प्रुफ अफ कन्सेप्ट तथा सीबीडीसीको प्रोटोटाइप समेत तयार भएको छ । उक्त प्रोटोटाइपका आधारमा चौथो चरणमा सोको परीक्षण परीक्षण गर्ने योजनामा राष्ट्र बैंक रहेको छ । 

बैंकले सीबीडीका सम्बन्धमा विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँग प्राविधिक ज्ञान आदानप्रदान गर्दै आएको छ । यसै अन्तर्गत बीआईएस इन्नोभेसन हब र हङकङ सेन्टरसँग नन डिस्क्लोजर सम्झौतामा हस्ताक्षर गरी उक्त संस्थाको एमब्रिज परियोजनाको त्रैमासिक अबजरभर मिटिङमा समेत बैंक सहभागी भएको छ । 

बीआईएस इन्नोभेसन हब र हङकङ सेन्टरको प्रोजेक्ट आरूमको कोड बेस प्रयोग गरी होलसेल सीबीडीसीको प्रोटोटाइप तयार गरिएको राष्ट्र बैंकको भनाइ छ ।