नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फ्री वाईफाई इन्टरनेट सेवा कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरू गरेको छ ।
देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित गर्दै फ्री वाईफाई विस्तार गर्ने योजना अनुसार टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरू गरेको हो ।
नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाईफाई इन्टरनेट सेवाको शुभारम्भ गरेका थिए ।
उक्त फ्री वाईफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भीआईपी लाउन्ज तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ ।
देशभर सञ्चालनमा रहेका ३ वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्री इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।
सेवाको कभरेज रहेको स्थानमा एसएसआईडी ‘NT-CAAN Free WiFi’ भएको वाईफाईमा कनेक्ट गरेर निर्देशन पूरा गरी नि:शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ ।
आईसीटी समाचार