नेपाल टेलिकमको आम्दानी र खुद नाफा घटेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो ३ महिनामा गत वर्षको तुलनामा टेलिकमको आम्दानी र नाफा दुबै घटेको हो ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा टेलिकमको कुल नाफा १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रूपैयाँ रहेको छ । जुन गत आवको सोहि त्रैमासिकको कूल आय तुलनामा ५८ करोड ५० लाख ५७ हजारको अर्थात् ५.४९ प्रतिशतले कमी हो ।
यस्तै गत आवको तुलनामा चालु आवको पहिलो त्रैमासिकमा टेलिकमको खुद मुनाफा समेत घटेको छ । गत आवको पहिलो त्रैमासिकमा २ अर्ब २ करोड ७४ लाख ३१ हजार खुद मुनाफा गरेकोमा चालु आवमा १ अर्ब ७३ करोड ९५ लाख ८९ हजार खुद मुनाफा गरेको छ ।
साथै यस आवको कर अघिको मुनाफा ३ अर्ब ५५ करोड ३६ लाख ९३ हजार रूपैयाँ रहेकोमा उक्त रकम गत आवको सोही अवधिको कर अघिको मुनाफा ३ अर्ब ३३ करोड ९३ लाख ४३ हजारको तुलनामा २१ करोड ४३ लाख ५० हजार (अर्थात् ६.४२ प्रतिशत) ले बढी भएको टेलिकमले जानकारी दिएको छ ।
टेलिकमको आम्दानी र खुद नाफा घट्नुका कारण
- ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आवको तुलनामा करिब १९ करोड ४२ लाख ४४ हजार रूपैयाँले कमी भएको । साथै ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस/एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परेको ।
- बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
- सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको ।
- सेवा संचालनको लागि आवश्यक ब्याण्डविथ बिगत वर्ष भन्दा कम दरमा खरिद गरिएको कारण सेवा संचालन खर्चमा कमी आएको ।
- कम्पनीले जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क २० अर्ब रूपैयाँको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८० पौष देखि लगानी गर्न नसकेको तथा सो सम्बन्धि भुक्तानीको निर्णय २०८१ बैशाखमा भए पश्चात केहि बैंकमा रहेका मुद्दती निक्षेपहरुलाई परिपक्व अवधि भन्दा अगाडी फुकुवा गरि भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब ५७ करोड ९८ लाख रूपैयाँले कमी भएको ।
- कम्पनीले गत आव देखि योगदानमा आधारित पेन्सन योजना लागू गरेको साथै कम्पनीले पेन्सन, उपदान तथा बिदा बापत Defined benefit Obligation को लागि राखिएको Defined Benefit Assets मा चालु आ.व.मा रु. ९ अर्ब १ करोड रकम छुट्टाई नेपाल लेखामान १९ ‘Employee Benefit’ अनुसार Actuarial Valuation गराई खर्च लेखांकन गरेको ।
- कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा Defined Benefit Assets मा रकम छुट्टाईएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको ।