नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ । इन्टरनेट सेवा उपयोग बढ्दै गइरहेको परिवेशमा विद्यार्थीहरूलाई उच्च गुणस्तरीय इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित यो अफर ल्याइएको हो ।
नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले यसको शुभारम्भ गरेका हुन् । उनले आर्थिक रूपमा सक्षम नभएका विद्यार्थीहरूका लागि सूचना प्रविधिको पहुँच स्थापित गर्न सहुलियतपूर्ण प्याकेज ल्याइएको बताए ।
नेपाल टेलिकमका अनुसार ‘एनटी फाइबर विद्यार्थी अफर’ अन्तर्गत विद्यार्थीहरूले ४ हजार ९९९ रूपैयाँमा ३० Mbps स्पीडको इन्टरनेट सेवा एक वर्षका लागि पाउनेछन् । जडान शुल्क भने ५०० लाग्ने छ ।
उक्त प्याकेजमा डुअल ब्याण्ड राउटरसहित १०० मिटर ड्रप फाइबर पनि समावेश छ । यसका लागि विद्यार्थीहरूले विद्यार्थी परिचयपत्र, जन्ममिति खुल्ने प्रमाणपत्र र नागबालिगको हकमा अभिभावकको नागरिकता, लाइसेन्स वा पासपोर्ट आवश्यक पर्नेछ । यो अफर माघ २२ गतेसम्म लागु हुनेछ ।
विद्यार्थीहरूले यो सेवा लिन १९८ मा फोन गर्न, नेपाल टेलिकमको नजिकको कार्यालय वा Demand Portal मार्फत अनलाइन आवेदन दिएर प्राप्त गर्न सक्नेछन् ।
यो अफर अन्तरगत उपलब्ध गराइएको इन्टरनेट समयावधि सकिएपश्चात पुनः यसै प्याकेजमा नवीकरण गर्न सकिने छैन । साविकमा उपलब्ध गराइएका प्याकेजबाट कुनै एउटा छनौट गर्नुपर्नेछ । अन्य प्याकेजमा नवीकरण गर्न नचाहेमा सुरूमा दिइएको राउटर पनि फिर्ता गर्नुपर्नेछ ।
आईसीटी समाचार