कीवर्डहरू -

श्रीलंकाको प्रमुख टेलिकम डायलगसँग जोडियो नेपाली एआई प्लेटफर्म टिङटिङ

श्रीलंकाको प्रमुख टेलिकम डायलगसँग जोडियो नेपाली एआई प्लेटफर्म टिङटिङ

काठमाडौं । नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्रविधि अब अन्तर्राष्ट्रिय बजारमा विस्तार हुन थालेको छ । नेपाली प्रविधि कम्पनी प्रिक्साको उत्पादन टिङटिङले श्रीलंकाको प्रमुख दूरसञ्चार कम्पनी डायलग आजियाटासँग रणनीतिक व्यावसायिक साझेदारी गरेको हो ।

साझेदारीसम्बन्धी सम्झौतामा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलगका इनोभेसन एन्ड प्लेटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै टिङटिङका एआईमा आधारित व्यावसायिक सञ्चार समाधान श्रीलंकाली बजारमा विस्तार हुने भएको छ । कम्पनीले आफ्नो प्रविधिलाई स्थानीय आवश्यकता र भाषाअनुसार विकास गर्दै अन्तर्राष्ट्रिय ग्राहकका लागि उपलब्ध गराउने जनाएको छ ।

टिङटिङको प्लेटफर्मअन्तर्गत कनेक्ट, ओम्नी, ब्रोडकास्ट र एजेन्ट गरी चार प्रमुख समाधान छन् । एउटै आर्किटेक्चरमा आधारित यी उत्पादनले व्यवसायलाई ग्राहकसँगको संवाद व्यवस्थापन, स्वचालन र ग्राहक अनुभव सुधारमा सहयोग गर्ने कम्पनीको दाबी छ ।

त्यसमध्ये टिङटिङ कनेक्ट संस्थाको आफ्नै पूर्वाधारमा जडान गर्न सकिने प्रणाली हो । ‘द बक्स’ नामक अन-प्रिमाइस उपकरणमार्फत यसको प्रयोग गर्दा संस्थाले आफ्नो डेटा आफ्नै पूर्वाधारभित्र राखेर सेवा सञ्चालन गर्न सक्छ ।

त्यस्तै, टिङटिङ ओम्नीले ह्वाट्सएप, भाइबर, मेसेन्जर, वेबच्याट र एसएमएसजस्ता विभिन्न डिजिटल माध्यमबाट आउने ग्राहक संवादलाई एउटै इनबक्समा व्यवस्थापन गर्ने सुविधा दिन्छ ।

ठूलो संख्यामा ग्राहकलाई एकैपटक सूचना, रिमाइन्डर तथा अन्य सन्देश पुर्‍याउन टिङटिङ ब्रोडकास्टले स्वचालित भ्वाइस कलको सुविधा उपलब्ध गराउँछ ।

कम्पनीको अर्को प्रमुख उत्पादन टिङटिङ एजेन्ट्स हो । यसले स्थानीय भाषामा ग्राहकसँग एआईमार्फत संवाद गर्न सक्ने तथा आवश्यक परेको अवस्थामा कुराकानीलाई मानव एजेन्टतर्फ हस्तान्तरण गर्न सक्ने क्षमता राख्छ ।

नेपालमा नेपाली भाषामा उपलब्ध यी प्रविधिहरू अहिले श्रीलंकाली बजारलाई लक्षित गर्दै अंग्रेजी र सिंहली भाषामा समेत प्रयोग गर्न सकिने बनाइएको कम्पनीले जनाएको छ । तमिल र श्रीलंकाली सिंहली भाषाका लागि थप परिष्कृत भ्वाइस मोडल विकास गर्ने काम समेत भइरहेको छ ।

प्रिक्साका सिइओ मनिष शर्माले डायलग आजियाटाजस्तो स्थापित दूरसञ्चार कम्पनीसँगको सहकार्यले टिङटिङको अन्तर्राष्ट्रिय विस्तारलाई नयाँ गति दिने बताएका छन् । उनका अनुसार यो साझेदारी व्यावसायिक सहकार्यमा मात्र सीमित नभई नेपाल र श्रीलंकाबीच प्रविधि तथा नवप्रवर्तनको सहकार्य विस्तार गर्ने अवसर समेत बन्न सक्छ ।

नेपालबाट विकास भएका सफ्टवेयर तथा प्रविधि उत्पादनलाई विदेशी बजारमा विस्तार गर्ने प्रयास भइरहेका बेला टिङटिङको श्रीलंका प्रवेशलाई नेपाली टेक उद्योगका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।