कीवर्डहरू -

न्युरलकी संस्थापक नामी बराललाई नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२४ प्रदान

न्युरलकी संस्थापक नामी बराललाई नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२४ प्रदान

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२४ न्युरलकी संस्थापक नामी बराललाई प्रदान गरिएको छ । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुमको ग्राण्ड फिनाले कार्यक्रममा बराललाई नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२४ प्रदान गरिएको हो ।

विदेशमा रहेर नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिलाई नेपाली डायस्पोरा अवार्ड प्रदान गरिन्छ । उक्त अवार्ड यस वर्ष अमेरिकामा बसेर नेपाल र नेपालीको प्रतिष्ठा बढाइरहेकी बरालले पाएकी हुन् । बरालको अनुपस्थितिमा प्रतिनिधित्व गर्दै न्युरलको नेपाल टिमले सो अवार्ड ग्रहण गरेको छ । 

सन् २००८ मा पढाइको शिलशिलामा अमेरिका गएकी नामीले त्यहाँ हार्भेस्ट प्लेटफर्म र न्युरल स्टार्टअप स्थापना गरेकी छन् । 

सन् २०१८ मा ट्विटरको जागिर छोडेर उनले सुरू गरेको फिनटेक स्टार्टअप हार्भेस्ट प्लेटफर्म सन् २०२१ मा अमेरिकाको सबैभन्दा ठूलो नियो बैंक एकर्न्सले किनेको थियो । 

सन् २०२२ देखि नामीले नेपाली प्रतिभा प्रयोग गरेरै ग्लोबल प्रडक्ट बनाउने गरी आफ्ना श्रीमान नवीन बाँस्कोटासँग मिलेर अर्को स्टार्टअप न्युरल सुरू गरेकी छन्, जसमा काम गर्ने अधिकांश नेपालीहरू छन् ।

 सन् २०२१ मा फोर्ब्सको द नेक्स्ट थाउजन्समा समेत सूचीकृत हुन सफल उनले नेपालीहरूको क्षमता विश्व मञ्चमा देखाउन सफल भएकी छन् ।