विश्वभर फैलिएका प्रवासी नेपाली समुदायको हक हितका लागि काम गर्दै आएका प्रीति अधिकारी र सजन गौतमले अमेरिका-आधारित भेञ्चर क्यापिटल फर्म मोमो भीसीको औपचारिक सुरुवात गरेका छन् ।
यो लगानी कोषले प्रारम्भिक चरणका साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई), फिनटेक, डिजिटल स्वास्थ्य, बायोटेक र दिगोपनजस्ता क्षेत्रका प्रविधि स्टार्टअपहरूमा लगानी गर्ने लक्ष्य राखेको छ ।
मोमो भिसी मार्फत पूँजी मात्र नभएर स्टार्टअप संस्थापकहरूलाई मार्गदर्शन, समर्थन र समुदायको अनुभूति दिन चाहेको सह-संस्थापक प्रीति अधिकारीले जानकारी दिइन् ।
अधिकारी द नेपाली डायस्पोराकी संस्थापक पनि हुन् । यसमार्फत विगत तीन वर्षभित्र १५० भन्दा बढी ग्लोबल नेटवर्किङ कार्यक्रमहरू आयोजना गर्दै विश्वभरका नेपाली व्यवसायिक र प्राविधिकलाई जोड्ने काममा तलत्लिन छिन् ।
उनले फ्युजमेसिन्स इंकमा उपाध्यक्षको रूपमा समेत कार्य गरिसकेकी छन् । अर्का सह-संस्थापक तथा जनरल पार्टनर सजन गौतम सूचना प्रविधि तथा साइबर सुरक्षामा विज्ञ छन् । उनी केही समयअघि सम्म एरभेस्ट बैंकको प्रमुख सूचना सुरक्षा अधिकारी थिए। यसअघि उनले सिटी र इवाई जस्ता बहुराष्ट्रिय संस्थामा समेत अनुभव सँगालेका छन् ।
विगत केही वर्ष नेपाल र विश्वभरको स्टार्टअप परिवेशको अध्ययन गर्दै आएको बताउँदै गौतमले मोमो भीसीमार्फत स्टार्टअप इकोसिस्टममा काम गर्न खोजेको जानकारी दिए ।
मोमो भीसीले ग्लोबल टेक इकोसिस्टमलाई जोड्ने, विश्वभरका नेपाली, नवप्रवर्तक र लगानीकर्तालाई जोड्ने, नेपाली स्टार्टअपहरूलाई तालिम, एक्सेलेरेटर र कार्यशालामार्फत व्यवसाय सुदृढ गर्ने पहल गर्ने तथा स्टार्टअपहरूका लागि आवश्यक उपकरण, टेम्प्लेट, र शैक्षिक सामग्री उपलब्ध गराउने प्लेटफर्मको रूपमा काम गर्ने बताइएको छ ।
मोमो भीसीले हालै अमेरिका आधारित इमिग्रेशन टेक प्लेटफर्म Imera मा आफ्नो पहिलो लगानी गरिसकेको छ । कम्पनीले आगामी ३ देखि ५ वर्षभित्र अमेरिकामा दर्ता भएका ४० सम्म उच्च सम्भावना भएका स्टार्टअपहरूमा लगानी गर्ने योजना बनाएको छ । साथै, नेपालमै छुट्टै स्थानीय लगानी कोष सुरु गर्ने तयारी पनि कम्पनीको प्राथमिकतामा रहेको जनाइएको छ।
कम्पनीले ‘इकोसिस्टम बिल्डर’ दृष्टिकोण अपनाएर प्रारम्भिक चरणका प्रविधिमा आधारित स्टार्टअपहरूलाई पूँजी, मार्गदर्शन, योजना सहयोग र सञ्जालमार्फत समग्र रूपमा सशक्त बनाउने उद्देश्य राखेको छ ।