नेपाली रेष्टुराँ उद्योगलाई लक्षित गर्दै रेष्टुरेन्ट बिलिङ म्यानेजमेन्ट सिस्टम ‘मबिल’ (maBill) सार्वजनिक भएको छ। नेपाल टेक मार्केटसँगको सहकार्यमा थ्री जेनज ग्रुप अफ स्टार्टअपद्वारा विकास गरिएको यो सफ्टवेयरले रेष्टुराँ व्यवसायलाई सञ्चालन गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउने दाबी गरिएको छ।
मबिल केवल बिलिङ सफ्टवेयर मात्र नभई सम्पूर्ण रेष्टुराँ व्यवस्थापन समाधान हो। यसमा छिटो, सजिलो र भरपर्दो बिलिङ सुविधा छ जसले व्यस्त समयमा पनि सेवा सहज बनाउँछ।
मोबाइल एपमार्फत टेबलमै अर्डर लिन र किचनमा तुरुन्त पठाउन सकिने भएकाले सेवा अझ छिटो र व्यवस्थित हुन्छ। साथै, अकाउन्ट तथा भौचर व्यवस्थापन प्रणालीमार्फत आय–व्यय ट्र्याक गर्न सकिन्छ र स्वचालित रूपमा लेखा प्रतिवेदन तयार हुन्छ।
यस सफ्टवेयरको अर्को महत्वपूर्ण पक्ष स्मार्ट स्टक व्यवस्थापन हो, जसले वास्तविक–समय सामग्री ट्र्याक गर्छ र स्टक अभावबारे तुरुन्त जानकारी दिन्छ। त्यस्तै, डिजिटल मेनु व्यवस्थापन प्रणालीमार्फत मूल्य, विशेष मेनु वा उपलब्धता सजिलै अपडेट गर्न सकिन्छ, जसका लागि मेनु पुनः छपाइ गर्नुपर्ने झन्झट रहँदैन।
मबिलका संस्थापक अमी कट्टेलका अनुसार यो सफ्टवेयर एक वर्ष निःशुल्क उपलब्ध गराइनेछ। साथै, महिला तथा किशोरी उद्यमीलाई ३० प्रतिशत छुट दिइने व्यवस्था गरिएको छ। कट्टेलका अनुसार, यो पहलले प्रविधिको प्रयोगलाई प्रोत्साहन मात्र नगरी महिला उद्यमीलाई व्यवसायमा सशक्त बनाउन पनि योगदान गर्नेछ।
नेपालकै पहिलो सफ्टवेयर मार्केट एजेन्सीको रूपमा रहेको नेपाल टेक मार्केटले ‘मBill’ मार्फत आतिथ्य क्षेत्रलाई डिजिटल रूपान्तरणतर्फ अघि बढाउने उद्देश्य राखेको छ। कम्पनीले रेष्टुराँ व्यवसायलाई प्रविधिमैत्री, प्रभावकारी र किफायती बनाउन नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।