नेपाली खेलकुद र प्रविधि क्षेत्रमा एउटा नयाँ आयाम थप्दै नेपालकै पहिलो स्पोर्टस ओटीटी प्लेटफर्म ‘स्ट्याक्स नेपाल’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नेपाली खेलप्रेमीहरूलाई लक्षित गर्दै उच्च गुणस्तरको खेलकुद सामग्री र प्रत्यक्ष प्रसारण उपलब्ध गराउने उद्देश्यले यो प्लेटफर्मको सुरुवात गरिएको हो ।
यसैबीच, विश्वभरका क्रिकेट प्रेमीहरूको ढुकढुकी मानिने टि-२० वर्ल्डकप यसपटक स्ट्याक्स नेपाल मार्फत नेपालभर प्रत्यक्ष प्रसारण हुनेछ । आगामी माघ २४ गते (फेब्रुअरी ७) बाट सुरु हुने यस विश्वकपका सबै खेलहरू नेपाली दर्शकहरूले अब आफ्नै मोबाइल, ट्याब्लेट वा स्मार्ट डिभाइसमा सहजै हेर्न सक्नेछन् ।
लामो समयदेखिको प्रतिक्षा अन्त्य गर्दै स्ट्याक्स नेपालले नेपाली दर्शकलाई घरमै र हिँड्दा-हिँड्दै पनि विश्वस्तरीय खेलकुद र खेलाडीहरूको क्रिकेटको अनुभव दिलाउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।
स्ट्याक्स नेपालका प्रबन्ध निर्देशक शिशिर पछाईले नेपाली खेलकुद क्षेत्रमा एउटा डिजिटल क्रान्ति ल्याउन चाहेको बताए । ‘टि-२० वर्ल्डकप जस्तो ठूलो उत्सवलाई नेपाली खेलप्रेमीहरूको पहुँचमा पुर्याउन पाउनु हाम्रा लागि गर्वको कुरा हो । ईसेवा जस्ता सजिला भुक्तानी माध्यमको प्रयोगले दर्शकहरूलाई थप सहज हुने हाम्रो विश्वास छ,’ उनले भने ।
आईसीटी समाचार