कीवर्डहरू -

च्याटजीपीटीमा नयाँ इन्टरएक्टिभ भिजुअल फिचर, गणित र विज्ञान सिक्न झन् सजिलो

च्याटजीपीटीमा नयाँ इन्टरएक्टिभ भिजुअल फिचर, गणित र विज्ञान सिक्न झन् सजिलो

ओपन एआईले आफ्नो एआई च्याटबोट च्याटजीपीटीमा नयाँ इन्टरएक्टिभ फिचर सार्वजनिक गरेको छ। यो फिचरले प्रयोगकर्तालाई वैज्ञानिक तथा गणितीय अवधारणाहरू बुझ्न सजिलो बनाउन डायनामिक भिजुअल (गतिशील दृश्य) प्रयोग गर्ने कम्पनीले जनाएको छ।

अब प्रयोगकर्ताले कुनै वैज्ञानिक वा गणितीय सिद्धान्तबारे सोध्दा च्याटजीपीटीले व्याख्यासँगै इन्टरएक्टिभ भिजुअल पनि देखाउन सक्छ। उदाहरणका लागि पाइथागोरेन थेउरम, कोलम्ब ल तथा लेन्स इक्वेसन जस्ता अवधारणाहरू व्याख्या गर्दा प्रयोगकर्ताले भिजुअलमा रहेका भेरिएबलहरू परिवर्तन गरेर परिणाम कसरी बदलिन्छ भनेर प्रत्यक्ष हेर्न सक्नेछन्।

कम्पनीका अनुसार अहिले च्याटजीपीटीले ७० भन्दा बढी वैज्ञानिक र गणितीय अवधारणाका लागि इन्टरएक्टिभ भिजुअल प्रदान गर्न सक्छ। आगामी दिनमा थप विषयहरू पनि यसमा समावेश गरिने योजना रहेको बताइएको छ।

यो सुविधा च्याटजीपीटीका सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने छ, चाहे उनीहरूले सशुल्क सदस्यता लिएका हुन् वा नलिएका। यद्यपि कम्पनीले विशेषगरी उच्च माध्यमिक तथा कलेज तहका विद्यार्थीहरूले यसबाट बढी लाभ लिन सक्ने जनाएको छ।

यसअघि गत वर्ष ओपन एआइले च्याटजीपीटीमा ‘Study Mode’ नामक फिचर पनि ल्याएको थियो। विद्यार्थीहरूले च्याटबोट प्रयोग गरेर आफ्नो गृहकार्य पूरा गर्न थालेपछि विकास गरिएको उक्त फिचरले सिधै उत्तर दिनेभन्दा पनि प्रयोगकर्तालाई आफैं समाधान खोज्न मार्गदर्शन गर्ने तरिकामा काम गर्छ।

कम्पनीका अनुसार नयाँ इन्टरएक्टिभ भिजुअल फिचर च्याटजीपीटीलाई शिक्षण र सिकाइका लागि अझ प्रभावकारी बनाउने प्रयासको सुरुवात मात्र हो। आगामी दिनमा थप विषयहरू र नयाँ सिकाइ उपकरणहरू थप्दै लैजाने योजना रहेको पनि ओपन एआईले जनाएको छ।