काठमाडौं । ओपनएआईले च्याटजीपीटीमार्फत अनलाइन किनमेललाई थप सहज बनाउने उद्देश्यले दुई नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताले आफूलाई मन परेको कपडा वा सामान भर्चुअल रूपमा लगाएर हेर्नुका साथै आवश्यक उत्पादनलाई पछि हेर्नका लागि सुरक्षितसमेत गर्न सक्नेछन् ।
ओपनएआईका अनुसार नयाँ सुविधामध्ये ‘भर्चुअल ट्राइ-अन’मार्फत प्रयोगकर्ताले आफ्नो सेल्फी वा पूरा शरीर देखिने तस्बिर अपलोड गरेर कुनै कपडा वा सामान आफूलाई कस्तो देखिन्छ भनेर हेर्न सक्नेछन् । च्याटजीपीटीको किनमेलसम्बन्धी नतिजामा देखिने ‘ट्राइ अन’ बटनमार्फत यो सुविधा प्रयोग गर्न सकिनेछ ।
त्यस्तै, इन्टरनेटमा भेटिएको कुनै कपडाको तस्बिर वा वेब स्क्रिनसट अपलोड गरेर आफूले उक्त कपडा लगाउँदा कस्तो देखिन सक्छ भन्ने पनि च्याटजीपीटीमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।
ओपनएआईले ‘फेभरिट्स’ नामको अर्को सुविधा पनि सुरु गरेको छ । यसमार्फत प्रयोगकर्ताले च्याटजीपीटीमा खोजेका वा मन पराएका उत्पादनलाई एपको लाइब्रेरीमा सुरक्षित राख्न सक्नेछन् । पछि आवश्यक पर्दा ती उत्पादन पुन: हेर्न सकिनेछ । भर्चुअल ट्राइ-अनबाट तयार भएका तस्बिरसमेत सुरक्षित राख्न मिल्ने कम्पनीको भनाइ छ ।
नयाँ सुविधामा हालै सार्वजनिक गरिएको च्याटजीपीटी इमेज २.५ मोडल प्रयोग गरिएको ओपनएआईले जनाएको छ । कम्पनीका अनुसार यो मोडलले प्राकृतिक प्रकाश र थप राम्रो टेक्स्चर भएका तस्बिर तयार गर्नुका साथै सम्पादनसम्बन्धी निर्देशनलाई पहिलेभन्दा भरपर्दो ढंगले पालना गर्छ । यसले तस्बिर तयार गर्न लाग्ने समय समेत घटाएको कम्पनीको दाबी छ ।
ओपनएआईले च्याटजीपीटीलाई केवल उत्पादन खोज्ने माध्यमका रूपमा मात्र नभई व्यक्तिगत किनमेल सहायकका रूपमा विकास गर्ने प्रयास गरिरहेको छ । प्रयोगकर्ताले आफूलाई मन परेको शैलीको वर्णन गरेर त्यसअनुसार आवश्यक कपडा तथा सामान खोज्न च्याटजीपीटीलाई भन्न सक्नेछन् ।
त्यसैगरी, कुनै सेलिब्रिटीले लगाएको पोसाकको तस्बिर अपलोड गरेर उनले लगाएका कपडा तथा सामान पहिचान गरी खरिदका लागि उपलब्ध उत्पादन खोज्न समेत च्याटजीपीटीलाई प्रयोग गर्न सकिनेछ ।
टेकक्रञ्चका अनुसार पछिल्लो समय एआई कम्पनीहरूले अनलाइन किनमेलमा आफ्नो भूमिका विस्तार गर्ने सम्भावना खोजिरहेका छन् । ओपनएआईले यसअघि च्याटजीपीटीमै तत्काल चेकआउट सुविधा ल्याउने योजना अघि सारेको थियो । अपेक्षित प्रदर्शन हुन नसकेपछि कम्पनीले भने उक्त योजनामा परिवर्तन गरेको थियो ।
एआईमार्फत सक्रिय रूपमा उत्पादन सिफारिस गर्ने प्रयासलाई भने केही प्रयोगकर्ताले विज्ञापनजस्तो देखिएको भन्दै आलोचना गर्दै आएका छन् । यसले एआई सहायकले उपयोगी सुझाव र व्यावसायिक प्रवर्द्धनबीच कसरी सन्तुलन कायम गर्छ भन्ने प्रश्न समेत उठाएको छ ।
च्याटजीपीटीको नयाँ सुविधाले फेसन तथा उत्पादन खोजीका क्षेत्रमा लामो समयदेखि प्रभाव जमाउँदै आएका पिन्ट्रेस्ट र गुगलजस्ता प्लेटफर्मसँग पनि प्रतिस्पर्धा बढाउने देखिएको छ ।
प्रयोगकर्तालाई प्रेरणा दिने, उत्पादन खोज्ने र अन्तत: अनलाइनबाट सामान खरिद गर्ने प्रक्रियालाई एउटै एआई सहायकमार्फत जोड्ने ओपनएआईको प्रयासका रूपमा यसलाई हेरिएको छ ।
यद्यपि, अनलाइन फेसन किनमेलका लागि च्याटजीपीटी उपभोक्ताको पहिलो रोजाइ बन्ने वा नबन्ने अझै स्पष्ट छैन । गुगलले यसअघि नै कपडा भर्चुअल रूपमा लगाएर हेर्न सकिने सुविधा सार्वजनिक गरिसकेको अवस्थामा ओपनएआईको नयाँ सुविधाले प्रयोगकर्तामाझ कस्तो प्रभाव पार्छ भन्ने आगामी दिनमा देखिनेछ ।
आईसीटी समाचार