काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको गुणस्तर र सुरक्षण पक्षबारे स्पष्ट पार्दै नयाँ स्मार्ट लाइसेन्स अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको जनाएको छ ।
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ भइरहेको स्मार्ट सवारी चालक अनुमतिपत्र ISO 7810 ID-1 मापदण्डअनुसार तयार गरिएको छ, जुन विश्वभर प्रयोग हुने क्रेडिट कार्डको आकार र गुणस्तरकै बराबरीमा रहेको बताइएको छ ।
विगतमा प्रयोग गरिएको ‘स्मार्ट चिप’ प्रविधिको प्रभावकारी उपयोगका लागि आवश्यक पूर्वाधार जस्तै कार्ड रिडर तथा अनलाइन/अफलाइन प्रमाणीकरण प्रणाली पर्याप्त रूपमा विकास हुन नसक्दा त्यसको उपयोग सीमित भएको मन्त्रालयले उल्लेख गरेको छ । यसै कारण विदेशी प्राविधिक सहयोगमा निर्भर रहनुपर्ने अवस्थालाई ध्यानमा राख्दै अहिले उच्च सुरक्षायुक्त वैकल्पिक प्रविधि अपनाइएको हो ।
नयाँ प्रणालीअन्तर्गत कोड इन्क्रिप्टेड, बहु-स्तरीय र कपी प्रोटेक्टेड बौद्धिक क्यूआर (I-QR) प्रविधि प्रयोग गरिएको छ । यस प्रविधिले इन्टरनेट बिना नै कार्ड स्क्यान गरेर सवारी चालकको पहिचान तथा विवरण प्रमाणित गर्न सकिने सुविधा उपलब्ध गराउँछ, जसले ट्राफिक प्रहरी तथा अन्य नियामक निकायलाई सहज बनाउने विश्वास गरिएको छ ।
मन्त्रालयका अनुसार नयाँ स्मार्ट लाइसेन्समा ३९ प्रकारका सुरक्षण विशेषता समावेश गरिएका छन् । पहिलो तहमा आँखाले देख्न सकिने मेटालिक सिल्भर इंक, मेसिनले पढ्न सक्ने जोन तथा फोटोसँग जोडिएका विशेष सुरक्षा ढाँचाहरू रहेका छन् । अन्य तहहरूमा थप उन्नत सुरक्षण उपायहरू समावेश गरिएको जनाइएको छ ।
सरकारले यस नयाँ प्रविधि र सुरक्षण प्रणालीमार्फत सवारी चालक अनुमतिपत्रलाई थप सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरअनुकूल बनाउने लक्ष्य लिएको जनाएको छ ।
आईसीटी समाचार