काठमाडौं । न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र स्न्यापच्याटलगायत सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने गरी कानुन अघि बढाएको छ । बालबालिकाको मानसिक स्वास्थ्य, निद्रा, पारिवारिक सम्बन्ध र अध्ययनमा सामाजिक सञ्जालको नकारात्मक प्रभाव बढ्दै गएको भन्दै सरकारले कडा उमेर सीमा प्रस्ताव गरेको हो ।
प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बालबालिकामाथि सामाजिक सञ्जालको बढ्दो प्रभावलाई बेवास्ता गर्न नसकिने बताउनुभएको छ । उहाँका अनुसार १३ देखि १७ वर्ष उमेर समूहका करिब एक तिहाइ बालबालिकाले दैनिक कम्तीमा पाँच घण्टा सामाजिक सञ्जालमा बिताउने गरेका छन् । लामो समयको प्रयोगले उनीहरूलाई हानिकारक सामग्री, लत लाग्ने प्रविधि तथा मानसिक दबाबको जोखिममा पारिरहेको सरकारको दाबी छ ।
प्रस्तावित कानुनअनुसार सामाजिक सञ्जाल कम्पनीहरूले आफ्ना प्रयोगकर्ताको उमेर १६ वर्ष पुगेको वा नपुगेको यकिन गर्नुपर्नेछ । उमेर प्रमाणीकरणका लागि खाता विवरण, अनुहार विश्लेषणमार्फत उमेर अनुमान गर्ने प्रविधि, डिजिटल परिचयपत्र वा औपचारिक परिचयपत्र प्रयोग गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।
नियम पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीलाई उनीहरूको विश्वव्यापी वार्षिक राजस्वको १० प्रतिशतसम्म जरिवाना गर्न सकिने प्रस्ताव गरिएको छ । तर प्रतिबन्ध उल्लङ्घन गर्ने बालबालिका वा उनीहरूका अभिभावकमाथि कुनै दण्ड नलगाइने शिक्षामन्त्री एरिका स्ट्यानफोर्डले स्पष्ट पार्नुभएको छ ।
यद्यपि, प्रस्तावित कानुनमाथि राजनीतिक मतभेद देखिएको छ । सरकारमा सहभागी एक्ट पार्टी र एनजेड फस्र्टले यसको विरोध गरेका छन् । अस्ट्रेलियामा लागू गरिएको यस्तै व्यवस्थाले अपेक्षित परिणाम नदिएको र किशोर किशोरीले प्रविधिको प्रयोगमार्फत प्रतिबन्ध छल्न सक्ने उनीहरूको तर्क छ ।
मुख्य विपक्षी लेबर पार्टीले पनि प्रस्तावप्रति पूर्ण असहमति जनाउनुको सट्टा उमेर प्रमाणीकरणको प्रक्रिया र प्रतिबन्धमा समेटिने सामाजिक सञ्जाल प्लेटफर्मबारे थप स्पष्टता आवश्यक रहेको जनाएको छ । लेबरका प्रवक्ता रुबेन डेभिडसनले अनलाइन वातावरण थप जटिल बन्दै गएकाले युवाको सुरक्षासँग सम्बन्धित जोखिमलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
अस्ट्रेलियाले गत डिसेम्बरमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो कानुन कार्यान्वयनमा ल्याएको थियो। बेलायत र फ्रान्सलगायतका देशले पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोग नियन्त्रण गर्न यस्तै उपाय अघि बढाइरहेका छन् ।
तर प्रतिबन्ध प्रभावकारी हुने विषयमा भने प्रश्न कायमै छ । गत जुनमा प्रकाशित एक अध्ययनले अस्ट्रेलियामा प्रतिबन्ध लागू भएपछि किशोरकिशोरी सामाजिक सञ्जालबाट उल्लेख्य रूपमा टाढिएको स्पष्ट प्रमाण निकै कम रहेको देखाएको थियो । यही अनुभवका कारण न्युजिल्यान्डमा प्रस्तावित व्यवस्थाको कार्यान्वयन र प्रभावकारितालाई लिएर समेत बहस सुरु भएको छ ।
आईसीटी समाचार