कीवर्डहरू -

एनआइसीसीको ‘स्टार्टअप संवाद’: उद्यमीहरूले उठाए नीतिगत सुधारका माग, संरचनागत अवरोध हटाउन जोड

एनआइसीसीको ‘स्टार्टअप संवाद’: उद्यमीहरूले उठाए नीतिगत सुधारका माग, संरचनागत अवरोध हटाउन जोड

नेपाल-भारत उद्योग वाणिज्य संघ (एनआइसीसी) ले दुसित प्रिन्सेस होटल, काठमाडौंमा ‘स्टार्टअप संवाद गोलमेच’ आयोजना गरेको छ। यस कार्यक्रमले उदीयमान उद्यमीहरू, शैक्षिक क्षेत्रका अगुवाहरू, र उद्योग विज्ञहरूको विविध समूहलाई नेपालको ‘स्टार्टअप यथार्थ’ को विश्लेषण गर्न र नीति-समर्थन तथा संस्थागत सहायताका लागि बाटो तय गर्न एकै ठाउँमा ल्याएको थियो।

एनआइसीसीको स्टार्टअप तथा प्राइभेट इक्विटी समितिका उपाध्यक्ष तथा संयोजक कुणाल कयालको अध्यक्षतामा सम्पन्न यो गोलमेच, युवा पलायन न्यूनीकरण गर्न आन्तरिक उद्यमशील वातावरण प्रवर्द्धन गर्ने संघको निरन्तर प्रयासको क्रममा रहेको एउटा अनुवर्ती कार्यक्रम थियो।

प्रतिबिम्बन सत्रको क्रममा सहभागीहरूले विकासमा बाधक मुख्य समस्याहरू औंल्याए। उठान गरिएका प्रमुख मुद्दाहरू पूर्वाधार र खरिद प्रक्रियासँग सम्बन्धित थिए। उद्यमीहरूले परीक्षण सुविधा र अनुसन्धान पार्कहरूको अत्यधिक अभाव रहेको बताए। सुवास पाण्डे (एग्रो रेन्ज नेपाल) र विजय भट्टराई (दियो ए.आई.) ले सरकारी खरिद प्रक्रियाले प्रायः आयातित उत्पादनहरूलाई प्राथमिकता दिने गरेको र स्थानीय नवप्रवर्तनलाई प्राथमिकता दिने नीतिगत परिवर्तन आवश्यक रहेकामा जोड दिए।

उद्यमीहरूले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीहरूमा पहुँच बनाउनुपर्दा आउने कठिनाइ र नेपालमा विदेशी लगानी भित्र्याउने जटिलताहरू पनि औंल्याए। बौद्धिक सम्पत्ति (आइपी) र प्याटेन्ट संरक्षणको बलियो आवश्यकता पनि बारम्बार उठ्ने विषय थियो। स्पेस टेकका लागि विशेष सामग्रीहरू प्राप्त गर्ने कठिनाइदेखि लिएर आइटी सेवाहरूलाई ‘विलासिता’ को रूपमा हेर्ने दृष्टिकोणसम्म, स्टार्टअपहरूले सरकार आफैं आन्तरिक समाधानहरूको ‘प्रारम्भिक प्रयोगकर्ता’ बन्न आवश्यक रहेको बताए।

एनआइसीसीका उपाध्यक्ष गौरव तायलले सहभागीहरूलाई स्वागत गर्दै नेपालमा नवप्रवर्तनकर्ताहरूको जीवन्त समूह भए पनि उनीहरूलाई फस्टाउन संरचित परामर्श (मेन्टरसिप) र सरलीकृत निकास संयन्त्र (exit mechanisms) आवश्यक रहेको बताए।

केयुएसओएमकी रोशी लामिछाने र एफएनसिसी तथा सीएनआईका प्रतिनिधिहरूले इकोसिस्टमको विखण्डनबारे आफ्ना धारणा राखे। उनीहरूले ईन्क्युबेसनको व्यवस्था रहे पनि त्यो विशिष्ट संस्थाहरूभित्र मात्र सीमित रहेको बताए। स्टार्टअप समितिका सदस्य  सन्दीप कामतले सिंगापुर र बैंगलोरको सफल इकोसिस्टमसँग समानान्तरता कोर्दै नेपालले आफ्नो प्रवासी समुदायको राम्रो उपयोग गर्न र शिक्षा जगत् तथा उद्योगबीच बलियो पुल निर्माण गर्न आवश्यक रहेकामा जोड दिए।

आध्यन्तका निश्चल सिंह भण्डारीले ‘लगानीको लागि तयारी’ (investment readiness) को अन्तरबारे चर्चा गर्दै धेरै स्टार्टअपहरूले इक्विटी लगानी सफलतापूर्वक आकर्षित गर्नुअघि वित्तीय संरचनामा सुधारको आवश्यकता रहेको बताए।

सत्रको समापन गर्दै कुणाल कयालले यी निष्कर्षहरूलाई नीति-निर्माणको तहसम्म पुर्याउने एनआइसीसीको प्रतिबद्धता दोहो¥याए। श्री कयालले भने, “नियामकीय अवरोधदेखि बजारको विश्वसनीयतासम्म, आज छलफल गरिएका चुनौतीहरूले हामीलाई नीति-समर्थनका लागि स्पष्ट मार्गचित्र प्रदान गर्दछन्। एनआइसीसीले हाम्रा स्टार्टअपहरूलाई स्केल गर्न र भिजन २०३० मा योगदान पुर्याउन नेपाल-भारत व्यापारिक सम्बन्धलाई सहजीकरण गर्न निरन्तरता दिनेछ।”

सहभागी स्टार्टअपहरूले हालै भारत सरकारद्वारा आइआइटी मद्रासमा आयोजित विशेष तालिम तथा परामर्श (मेन्टरसिप) कार्यक्रमबाट समेत लाभान्वित भएका थिए, जसले सीमापार उद्यमशीलता पूर्वाधारलाई थप बलियो बनाएको छ।