काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् । यसअघिका सीईओ जगदीश खड्काको कार्यकाल समाप्त भएपछि ईसेवा सञ्चालक समितिले शर्मालाई नयाँ सीईओ नियुक्त गरेको हो ।
मोबाइल बैंकिङ तथा क्यूआर भुक्तानीको प्रयोग तीव्र रूपमा बढिरहेको अवस्थामा डिजिटल वालेटको व्यवसाय विस्तारमा चुनौती देखिँदै आएको छ । यस्तो प्रतिस्पर्धात्मक बजारमा ईसेवाको व्यवसायलाई थप विस्तार र सुदृढ गर्ने जिम्मेवारी शर्माको काँधमा आएको छ ।
शर्माले आफ्नो व्यावसायिक करियर २०५६ साल जेठमा ओरियन्टल सहकारीबाट सुरु गरेका थिए । त्यसपछि २०५७ साल माघमा तत्कालीन नेपाल बंगलादेश बैंकमा प्रवेश गरेसँगै उनको औपचारिक बैंकिङ करियर सुरु भएको थियो । उक्त बैंक हाल नबिल बैंकका रूपमा सञ्चालनमा छ ।
बैंकिङ क्षेत्रमा प्रवेश गरेको करिब ७–८ महिनापछि उनी हिमालयन बैंकमा आबद्ध भए । हिमालयन बैंकमा करिब साढे सात वर्ष काम गरेका शर्मा त्यहाँ कार्ड डिभिजनका वरिष्ठ अधिकृतसम्म पुगेका थिए ।
२०६४ साल माघमा उनी कार्ड डिभिजनकै प्रबन्धकका रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए । नबिल बैंकमा उनले १८ वर्षभन्दा बढी समय काम गरे । यस अवधिमा उनको करिब १० पटक सरुवा तथा बढुवा भएको थियो ।
नबिल बैंकमा सुरुवाती करिब १० वर्ष उनले कार्ड डिभिजनमा काम गरे । त्यसपछि रेमिट्यान्स र बैंकासुरेन्सको जिम्मेवारी सम्हाल्दै खुद्रा बैंकिङ व्यवसायको नेतृत्वसमेत गरे ।
कोभिड १९ महामारीका समयमा उनी नबिल बैंकको गण्डकी प्रदेश प्रबन्धक थिए । त्यसपछि डिजिटल बैंकिङ प्रमुख, अपरेसन प्रमुख र प्रमुख सञ्चालन अधिकृत (सीओओ) लगायतका जिम्मेवारी सम्हाले ।
करिब पाँच वर्षअघि नबिल बैंकको सीओओ बनेका शर्माले त्यसपछि नीति निर्माण तथा रणनीतिक योजना विभागको नेतृत्व गरेका थिए । उनले चिफ अल्टरनेटिभ च्यानल सेल तथा चिफ मार्केटिङ अफिसरको जिम्मेवारीसमेत सम्हालेका थिए ।
भदौ ५ गते नबिल बैंकबाट बाहिरिएका शर्मालाई ईसेवा सञ्चालक समितिले नयाँ सीईओ नियुक्त गरेको हो । शर्माले आगामी सोमबारदेखि ईसेवाको सीईओका रूपमा कार्यभार सम्हाल्नेछन् ।
डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको र वालेट बजारमा प्रतिस्पर्धा तीव्र भइरहेको अवस्थामा ईसेवाको सेवा तथा व्यवसाय विस्तारलाई थप गति दिने जिम्मेवारी अब शर्माको नेतृत्वमा हुनेछ ।
आईसीटी समाचार