काठमाडौं । प्रविधि कम्पनी गुगलले आफ्नो एआई आधारित खोज प्रणालीलाई थप उन्नत बनाउँदै स्वचालित रूपमा सूचना खोज्ने नयाँ ‘सर्च एजेन्ट’ सुविधा विस्तार गर्न थालेको छ । कम्पनीका अनुसार यो प्रणालीले प्रयोगकर्ताको रुचि र निर्देशनअनुसार इन्टरनेटमा निरन्तर निगरानी राख्दै आवश्यक जानकारी स्वतः संकलन गर्नेछ ।
गुगल आई/ओ २०२६ मा पहिलो पटक प्रस्तुत गरिएको यो प्रविधि अहिले क्रमशः प्रयोगकर्तामाझ उपलब्ध हुन थालेको हो । नयाँ सुविधाले प्रयोगकर्ताले एउटै विषयमा पटक पटक खोजी गर्नुपर्ने झन्झट हटाउने विश्वास गरिएको छ ।
निरन्तर निगरानी गर्ने एआई
गुगलका अनुसार एआई मोडभित्र सञ्चालन हुने यी एजेन्टहरूले समाचार वेबसाइट, ब्लग, सामाजिक सञ्जाल, वित्तीय तथ्यांक, खेलकुद अपडेट तथा अनलाइन बजारसम्बन्धी सामाग्रीहरू निरन्तर विश्लेषण गर्छन् । प्रयोगकर्ताले आफूलाई चासो भएको विषयबारे सामान्य भाषामै निर्देशन दिन सक्छन् ।
उदाहरणका लागि, ‘यो विषयमा नयाँ जानकारी आएमा खबर गर’, ‘जहाज टिकटको मूल्य घटेमा जानकारी देऊ’ वा ‘फलानो कम्पनीको नयाँ उत्पादन सार्वजनिक भएमा सूचित गर’ जस्ता अनुरोध गरेपछि एजेन्टले सो विषयमा स्वतः निगरानी सुरु गर्छ ।
विभिन्न काममा उपयोगी
यो प्रणालीलाई घर वा अपार्टमेन्ट खोज्ने, रोजगारीका अवसरहरू ट्र्याक गर्ने, कुनै विशेष खेलाडी वा ब्रान्डका नयाँ उत्पादनबारे जानकारी लिनेदेखि लिएर विभिन्न बजार गतिविधि पछ्याउन प्रयोग गर्न सकिने बताइएको छ ।
एआईले सान्दर्भिक परिवर्तन वा नयाँ सूचना फेला पारेपछि प्रयोगकर्तालाई गुगल एपमार्फत सूचना पठाउँछ । सूचनासँगै संक्षिप्त सारांश, स्रोत लिंक र आवश्यक परे थप कदम चाल्न मिल्ने विकल्प समेत उपलब्ध गराइन्छ ।
पुराना सुविधाभन्दा फरक
यसअघि गुगलले जेमिनीमार्फत निश्चित समयमा चल्ने स्वचालित कार्यहरू उपलब्ध गराएको थियो । तर नयाँ सर्च एजेन्टले निश्चित समय कुर्नुपर्ने आवश्यकता हटाउँदै वेबमा हुने परिवर्तनहरूलाई लगभग वास्तविक समयमै निगरानी गर्ने क्षमता राख्छ ।
विशेष गरी छिटो परिवर्तन हुने समाचार, सीमित अवधिका अफर, स्टकमा सीमित रहेका उत्पादन तथा वित्तीय बजारका अपडेटहरू पछ्याउन यो सुविधा उपयोगी हुने अपेक्षा गरिएको छ ।
हाल प्रिमियम ग्राहकलाई मात्र
गुगलले हाल यो सुविधा आफ्नो प्रिमियम सदस्यता योजनाअन्तर्गत उपलब्ध गराएको छ । कम्पनीको एआई अल्ट्रा सेवाका ग्राहकहरूले मात्र यसको प्रयोग गर्न सक्नेछन् ।
कम्पनीका अनुसार आगामी महिनाहरूमा यो सुविधा थप प्रयोगकर्तामाझ विस्तार गरिनेछ । वर्षको अन्त्यसम्ममा एआई प्रो सदस्यहरूलाई समेत स्वचालित सर्च एजेन्ट सेवा उपलब्ध गराउने योजना रहेको जनाइएको छ ।
आईसीटी समाचार