यदि तपाईंले कहिल्यै भीडभाड वा धेरै हल्ला हुने ठाउँबाट कल गर्नुभएको छ भने, पक्कै पनि थाहा छ कि पृष्ठभूमिको आवाजले कुराकानी कति बिगारिदिन्छ। अब यो समस्याको समाधान छिट्टै आउने भएको छ। रिपोर्टका अनुसार, यो नयाँ सुविधा ह्वाट्सएपको एन्ड्रोइड बीटा संस्करण २.२६.११.८ मा देखिएको छ र यो विशेषगरी भ्वाइस तथा भिडियो कलको गुणस्तर सुधार गर्न डिजाइन गरिएको हो। अहिलेसम्म यस्तो सुविधा जूम वा माइक्रोसफ्ट टिम्सजस्ता प्रिमियम भिडियो कन्फरेन्सिङ एपहरूमा मात्रै देखिन्थ्यो, तर अब यो तपाईंको फोनको ह्वाट्सएपमै पनि उपलब्ध हुनेछ।
नयाँ नोइज क्यान्सेलेसन सुविधा के हो?
ह्वाट्सएपको पछिल्लो बीटा संस्करण (एन्ड्रोइड २.२६.११.८) मा यो सुविधाको झलक देखिएको छ। यसमा रहेको प्रविधिले ट्राफिकको आवाज, हावाको सुस्साहट, र वरिपरिका मानिसहरूको कुराकानीजस्ता अनचाहिँदा ध्वनिहरूलाई पहिचान गरेर रियल–टाइममै घटाइदिन्छ, ताकि सामुन्ने भएको व्यक्तिले तपाईंको आवाज स्पष्ट रूपमा सुन्न सकोस्।
यसले कल सुरु हुनेबित्तिकै एपको एल्गोरिद्मले तपाईंको आवाज र पृष्ठभूमिमा रहेका अनावश्यक आवाजबीचको फरक छुट्याउनेछ।
यसले हावाको सनसनाहट, ट्राफिकको आवाज वा वरिपरिका मानिसहरूको आवाज दबाएर केवल तपाईंको आवाज मात्र अर्को व्यक्तिसम्म पुर्याउनेछ।
आइफोन (iOS) प्रयोगकर्तासँग पहिल्यै भ्वाइस आइसोलेसन जस्तो सिस्टम–स्तरको सुविधा उपलब्ध छ, तर एन्ड्रोइडमा यस्तो सुविधाको कमी प्रायः ह्वाट्सएप कल गर्दा खड्किन्थ्यो। अब ह्वाट्सएपले यही फरक हटाउनका लागि एपभित्रै आफ्नै बिल्ट–इन सिस्टम थपिरहेको छ।
धेरै प्रयोगकर्तालाई लाग्न सक्छ, के ह्वाट्सएपले हाम्रो आवाज सुन्दैछ? कम्पनीले स्पष्ट पारेको छ कि यो सम्पूर्ण प्रक्रिया तपाईंको उपकरणमै स्थानीय रूपमा हुनेछ। माइक्रोफोनबाट अडियो फिल्टर भएपछि मात्र एन्क्रिप्ट हुन्छ, त्यसैले ह्वाट्सएपको एन्ड–टु–एन्ड एन्क्रिप्सन सुरक्षामा कुनै असर पर्दैन।
ह्वाट्सएपले यो सुविधालाई डिफल्ट रूपमा अन राख्नेछ, तर यसलाई बन्द गर्ने विकल्प पनि प्रयोगकर्तालाई दिइनेछ। यदि तपाईं लाइभ कन्सर्टमा हुनुहुन्छ वा प्रकृतिका आवाजहरू, जस्तै वर्षा वा संगीत, कलमै सुनाउन चाहनुहुन्छ भने म्यानुअल रूपमा नोइज क्यान्सेलेसन अफ गर्न सक्नुहुनेछ।
हाल यो सुविधा परिष्करण र परीक्षण चरणमा छ। विज्ञहरूका अनुसार, आगामी केही साताभित्र पहिले बीटा टेस्टर्सका लागि र त्यसपछि सबै ग्लोबल प्रयोगकर्ताका लागि रोलआउट गरिनेछ।
आईसीटी समाचार