सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नहुने र सम्पर्क विन्दु नराख्ने सामाजिक सञ्जाललाई नेपालमा रोक लगाउने चेतावनी दिएको छ ।
एक सूचना जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० अनुसार सूचीकरण हुन र सम्पर्क विन्दु राख्न आग्रह गरेको हो ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने वा सञ्चालनमा रहेका व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने तथा निर्देशिकाको दफा ६ मा उल्लिखित व्यक्ति, कम्पनी वा संस्थाले नेपाल भित्र सम्पर्क विन्दु (पोइन्ट अफ कन्ट्याक्ट) को व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
नेपालभित्र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने वा गरेका व्यक्ति, कम्पनी वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्न तथा नेपाल भित्र सम्पर्क विन्दु (पोइन्ट अफ कन्ट्याक्ट) को व्यवस्था सहित निर्देशिकाको प्रावधानहरुको पालनाको सुनिश्चितता गर्नु मन्त्रालयले जानकारी दिएको छ ।
निर्देशिका बमोजिमको व्यवस्था पालना नभएमा सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने व्यहोरा समेत अवगत गराएको छ ।
साथै नेपाल भित्र दर्ता गरी सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने, समित सामाजिक सञ्जाल प्रयोगको सन्दर्भमा देशभर इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने, शिक्षण संस्थामा शैक्षिक गुणस्तर सुधार गर्न डिजिटल सहयोग कार्यक्रम सञ्चालन गर्ने र नेपाली भाषा तथा अन्य राष्ट्र भाषाको स्रोत परिचालन गरी विषयवस्तु (कन्टेन्ट) फिल्टरिङ् एवम् मोडरेसनलाई प्रभावकारी बनाउने, सामाजिक सद्भाव विगार्ने तथा अश्लिलता फैलाउने विषयवस्तु हटाउन सहयोग गर्ने र विद्युतीय अपराध नियन्त्रणमा सहयोग पुर्याउने गरी सामाजिक सञ्जाल प्लेटफर्मलाई थप जिम्मेवारी तोकिएको हुँदा सोही बमोजिम गर्न समेत मन्त्रालयले बताएको छ ।