कीवर्डहरू -

नागरिक एपमा ठूला सेवा विस्तार हुँदै, एक साताभित्र लोकसेवा प्रवेशपत्र, एनओसी र निजामती विवरण उपलब्ध हुने

नागरिक एपमा ठूला सेवा विस्तार हुँदै, एक साताभित्र लोकसेवा प्रवेशपत्र, एनओसी र निजामती विवरण उपलब्ध हुने

सरकारले नागरिक सेवाहरूलाई डिजिटल माध्यममार्फत सहज र एकीकृत बनाउने अभियानलाई तीव्रता दिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि नागरिक एपमा नयाँ सेवा थप्ने काम अन्तिम चरणमा पुगेको छ।

अब एक हप्ताभित्रै नागरिक एपमार्फत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) उपलब्ध हुने व्यवस्था कार्यान्वयनमा आउने भएको छ।

सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहका अनुसार हाल यी सेवाहरू परीक्षण चरणमा छन् र प्राविधिक तयारी पूरा भएसँगै चाँडै सञ्चालनमा आउनेछन्। उहाँले आगामी एक साताभित्र सेवाहरू पूर्ण रूपमा नागरिक एपमा जोडिने जानकारी दिनुभयो।

चैत १३ गते मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ३५ अन्तर्गत यी सेवा विस्तार गर्ने निर्णय गरिएको हो। सोही निर्णय कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्बन्धित निकायलाई समयसीमासहितको कार्ययोजना तयार गरी काम अघि बढाउन निर्देशन दिएको छ।

मन्त्री तिमिल्सिनाले मातहतका निकायहरूलाई नागरिक एपमार्फत सेवाहरूलाई थप एकीकृत गर्न र डिजिटल प्लेटफर्मको प्रयोग बढाउन समेत निर्देशन दिएका छन्। त्यसपछि विभागले सरकारी तथा प्राविधिक निकायहरूसँग समन्वय तीव्र पारेको छ।

विभागका अनुसार नेपाल इन्जिनियरिङ परिषद्सँगको सहकार्यमा व्यवसायिक इन्जिनियरहरूको प्रमाणपत्र पनि नागरिक एपबाट उपलब्ध गराउने प्रक्रिया अघि बढिसकेको छ।

नयाँ सेवा थपिएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ का रूपमा विकास गर्ने सरकारको लक्ष्य थप बलियो हुने अपेक्षा गरिएको छ। यसअघि नै यस एपमार्फत प्रहरी चरित्रिक प्रमाणपत्र प्राप्त गर्ने सुविधा सुरु भइसकेको छ।