कीवर्डहरू -

अब कालोसूचीमा परेका कम्पनीको विवरण छुट्टै वेबसाइटमा

अब कालोसूचीमा परेका कम्पनीको विवरण छुट्टै वेबसाइटमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीसम्बन्धी विवरण व्यवस्थापनका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । अब कालोसूचीमा परेका तथा कालोसूचीबाट हटाइएका व्यक्ति, कम्पनी, फर्म र संस्थासम्बन्धी सम्पूर्ण विवरण नयाँ पोर्टलमार्फत सार्वजनिक गरिने भएको हो ।

कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४३ अनुसार कालोसूचीमा राखिएका वा फुकुवा गरिएका बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी तथा अन्य सरोकारवालाको विवरण blacklist.ppmo.gov.np मा अद्यावधिक गरिएको छ ।

यसअघि यस्ता विवरण सार्वजनिक खरिद अनुगमन कार्यालयको मुख्य वेबसाइटमार्फत उपलब्ध गराइँदै आएको थियो । अब भने कालोसूचीसम्बन्धी सम्पूर्ण सूचना र अभिलेखलाई व्यवस्थित तथा सहज पहुँचयोग्य बनाउन अलग्गै वेबसाइट सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नयाँ प्रणालीमार्फत सरोकारवाला निकाय, सरकारी कार्यालय तथा सर्वसाधारणलाई कालोसूचीसम्बन्धी सूचना छिटो र सहज रूपमा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।