नेपाल टेलिकमले आफ्नो अन्तर्राष्ट्रिय भोल्टे रोमनिङ सेवा डेनमार्क र दक्षिण कोरियासम्म विस्तार गरेको जनाएको छ। कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।
डेनमार्कको ‘टेलिनोर डेनमार्क’ र दक्षिण कोरियाको ‘एसके टेलिकम’ सँग व्यावसायिक सम्झौता गरिएको छ । अब नेपाल टेलिकमको भोल्टे रोमिङ सेवा विश्वका आठ देशमा पुगेको छ । क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवानमा यसअघि यो सेवा उपलब्ध थियो । हालसम्म टेलिकमले यी देशका नौ सेवा प्रदायकसँग रोमिङ सम्झौता गरिसकेको छ ।
कम्पनीको अनुसार अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवामार्फत ग्राहकले विदेशमा रहँदा पनि नेपालमा जस्तै एचडी क्वालिटीमा भ्वाइस कल, डेटा र एसएमएस सेवा प्रयोग गर्न सकिने भएको छ।
ग्राहकले यो सेवा प्रयोग गर्न मोबाइल सेट भोल्टे सपोर्ट गर्ने हुनुपर्छ र सिम कार्डमा यो सेवा पहिले नै एक्टिभेट गरिएको हुनुपर्छ । मोबाइल स्क्रिनको माथिल्लो भागमा एच्डी वा भोल्टे लेखिएको भएमा सेवा उपलब्ध छ भन्ने बुझिन्छ ।
सेवा सक्रिय गर्नको लागि ग्राहकले *444# डायल गरी एक्टिभेट भोल्टे विकल्प छनोट गरेर सेवा सुरु गर्न सकिन्छ । टेलिकमको आधिकारिक वेबसाइटमार्फत रोमिङ सेवा र यसको महसुल सम्बन्धी थप विस्तृत जानकारी लिन सकिन्छ ।
आईसीटी समाचार