किसान बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई मोबाइलको एपबाट व्यवसाय प्रवर्द्धन सेवा (Business Development Service - BDS) लाई समेटेर, किसान साकोसले आफ्ना सदस्यहरूको उत्पादन, सीप र सपना प्रविधिको सहायताले बजारमा पुर्याउने बाटो खोलेको छ ।
किसान साकोसको स्थापना ३१ वर्षअघि, २५ जना सदस्यहरू मिलेर गरेको यात्रा आज लाखौँको साझा अभियान बनेको छ । त्यसबेलाका गाउँघरका किसान, साना व्यवसायी र गृहिणीहरूले सुरु गरेको यो संस्था अहिले देशकै उदाहरणीय सहकारीमध्ये एक बनिसकेको छ। समयसँगै सँगै अघि बढ्दै, यो संस्थाले २५ वटा सहकारीलाई समेट्दै सेवा दिएको छ।
अहिले किसान साकोसमा करिब १ लाख सदस्य छन्, जसको ४अर्बको पूँजी र सेवा सञ्जालले यो सहकारीलाई विशिष्ट बनाएको छ। किसान साकोसले एसिया प्रशान्त क्षेत्रको गुणस्तर प्रमाणीकरण संस्था एक्सेस ब्राण्डबाट पाँच पटकसम्म प्रमाणिकरण प्राप्त गरिसकेको छ।
संस्थाले अहिले गरेको नयाँ प्रयास हो डिजिटल व्यवसाय प्रवर्द्धन सेवा भन्नाले व्यवसाय विकास सेवा भन्ने बुझिन्छ, जुन सहकारीका सदस्यहरूको सीप अभिवृद्धि, उत्पादनको बजार व्यवस्थापन र उद्यमशीलताको प्रवर्द्धन गर्ने एक प्रकारको सेवा हो।
नेपालमा केही संस्थाहरूले व्यवसाय प्रवर्द्धन सेवा अवधारणा ल्याए पनि यो अवधारणालाई मोबाइल एपमार्फत डिजिटल स्वरूपमा प्रस्तुत गर्ने प्रयास पहिलोपटक किसान साकोसले गरेको हो।
अब किसान साकोसका सदस्यहरूले आफ्नो उत्पादन – चाहे त्यो अचार होस्, कपडा, दही, घ्यू वा हस्तकलाको सामान – सोझै मोबाइल एपमा दर्ता गर्न सक्नेछन् । ‘लोकल प्रडक्ट’ नामको खण्डमा गएर, सदस्यले आफ्नो उत्पादनको नाम, तस्बिर, मूल्य र सम्पर्क विवरण राख्न सक्छन् । अन्य सदस्य वा ग्राहकले यिनै उत्पादनहरू हेरेर, उत्पादकसँग सिधा सम्पर्क गर्न सक्छन्। सदस्यहरुको उत्पादन किसान साकोसको वेबसाईटमा पनि हेर्न सकिने छ।
यो सेवा केवल वस्तु बेच्ने माध्यम मात्र होइन, आत्मनिर्भरता र आर्थिक सबलीकरणको प्लेटफर्म हो। विशेष गरी किसान साकोसका २५००० महिला सदस्यहरू र उहाँहरुका परिवारको लागि, जो आफ्ना उत्पादन घरभित्र बनाउँछन् तर बजारमा लैजान सक्दैनन्, यो सेवा उज्यालो बाटो बन्न सक्छ। बजार जान नपुग्नेले अब बजार आफ्नै मोबाइलमा बोलाउन सक्नेछन्।
किसान साकोसको यो एप केवल BDS को लागि मात्र होइन। यसमा मोबाइल बैंकिङ, बैंकबाट रकम ट्रान्सफर, बैंकमा रकम ट्रान्सफर, वालेट लोड, मिसकल बैंकीङ्ग, ईन्टरनेट, टिभि, टेलिफोन, विजुली, पानी, युटिलिटि बिल भुक्तानी, क्युआरमार्फत कारोबार, बीमा जानकारी, रेमिट्यान्स सुविधा, बस बुकिङ्ग, फलाईट बुकिङ्ग तथा अन्य डिजिटल सेवा पनि समेटिएको छ।
एपले कारोबार भएपछि विवरण र रकम पढेर आवाजमा जानकारी दिने गरेको छ जसले गर्दा कारोबार गर्दा सहजता थपिएको छ। सदस्यहरुले किसान साकोसको अनलाईन बैंकीङ्ग सेवा पनि सहजै जोड्न र चलाउन सक्नुहुनेछ । SMART.KISAN.ORG.NP बाट सदस्यलाई सहकारीको पहुँच हातमै पुर्याउने उद्देश्यले डिजाइन गरिएको यो एप विकासमा सफ्टवेयर कम्पनी मो-फिन र सिनर्जीटेकले सहजिकरण गरेको छ।
संस्थाका अध्यक्ष भोजराज पौडेले यो डिजिटल सेवालाई केवल प्रविधिको प्रयोग नभई, एक नवयुगको सुरुआत भएको बताए । उनले अगाडि भने 'हामीहरुको विश्वास छ की – सहकारी केवल पैसाको कारोबार गर्ने संस्था होइन, समुदायको सपना बोकेर हिँड्ने साझा यात्रा हो। डिजिटल बीडीएस पनि त्यही यात्राको अर्को चरण हो, जहाँ सदस्यले आफ्ना सीप र उत्पादनलाई संसार सामु पुर्याउने मौका पाउनेछन्। किसान साकोसका हरेक सदस्यले ई-पासबुक एप नि:शुल्क दर्ता गरि चलाउन सक्ने हुँदा डिजिटल बीडीएसमा सहजै जोडिन सक्नुहुनेछ।'
यो एप चलाउन सजिलो रहे पनि संस्थाले प्रविधि प्रयोग सम्बन्धी प्रविधि शिक्षा कार्यक्रमहरु नियमित गराउने छ। प्रविधिको नविन प्रयोगहरु अपनाउन सामाजिक सञ्जालमा किसान साकोसको बीडीएस विषयक पडकाष्ट पनि उपलब्ध रहेको छ ।
नेपालको सहकारी क्षेत्र अहिले विश्वास संकटको चपेटामा परेको बेला, किसान साकोसले चाहिँ पारदर्शिता, नवप्रवर्तन र सदस्य–केन्द्रित सेवामा ध्यान केन्द्रित गर्दै उदाहरणीय काम गरिरहेको छ। कतिपय सहकारीहरूले सदस्यको रकम फिर्ता गर्न नसक्दा आलोचित भइरहेका छन्, तर किसान साकोसले आफ्नो सदस्यलाई थप सेवा र प्रवर्द्धन दिन निरन्तर कोसिस गरिरहेको छ।
भविष्यमा यो सेवा अझ विस्तार हुँदै जानेछ। स्थानिय तह, संघसंस्था, प्रदेश सरकार र साझेदारहरूसँग सहकार्य गर्दै, किसान साकोसले यो प्लेटफर्मबाट आफ्ना सदस्यहरुको शिप, कला, उत्पादनलाई व्यवसायीकरण गरि समृद्ध सदस्य, दिगो सहकारीको अवधारणा साकार गर्ने छ। सदस्यहरुलाई उद्यमशिलता तर्फ लैजाने र स्थानिय उत्पादन र खपतलाई दिगो बनाई राष्ट्रिय स्तरमा बजारको पहुँच लैजाने एवं किसान साकोसका हरेक सेवाकेन्द्रहरु व्यवसाय प्रवर्द्धन गर्ने युनिटका रुपमा लैजाने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयराज तिमिल्सिनाले बताए ।
नेपालमा धेरै सहकारीहरू छन्, कतिपयले बीडीएस जस्तै सेवा चलाएका छन्, तर मोबाइल एपमै व्यवस्थित, संस्थागत र डेटा–आधारित व्यवसाय प्रवर्द्धन सेवा ल्याउने पहिलो संस्था किसान साकोस रहेको छ। यसले नेपाली सहकारीहरूलाई डिजिटल बजारको युगमा प्रवेश गराउने ढोका खोलिदिएको छ।
किसान साकोसको बीडीएस सेवाले केवल उत्पादनको व्यापार मात्र होइन, गाउँघरका सदस्यहरूको आत्मबल बढाउने माध्यम पनि हो। उत्पादन बनाउने हातमा प्रविधि दिने, विश्वास दिने र सम्मान दिने सपना बोकेको छ।
नयाँ पुस्ता अब सहकारीसँग जोडिन खोज्छ, तर केवल बचत र ऋणका लागि होइन। उनीहरूलाई चाहिन्छ – स्मार्ट सेवा, डिजिटल पहुँच र उद्यमशील अवसर। किसान साकोसले यो चाहानालाई बुझेर, पहिलो पटक डिजिटल सहकारी सेवा ल्याएर उदाहरण पेश गरेको किसान साकोसका समिति सदस्य एवं सूचना प्रविधि उपसमिति संयोजक नर बहादुर थापा (नरेश) ले बताए ।
यस प्रयासले सहकारी आन्दोलनमा योगदान गर्न मद्दत पुर्याउनेछ। यसले ‘सहकारी क्षेत्रले भोगी रहेको नकारात्मकतालाई सकारात्मक तिर’ बदल्नेछ। सहकारी, सरकार, निजी क्षेत्र र समुदाय सबैले मिलेर, सदस्यको घरदेखि बजारसम्मको यात्रा सजिलो बनाउने दिशामा अघि बढ्नेछन्। आजको डिजिटल बीडीएस, भोलिको डिजिटल नेपालको एक खुड्किलो बन्नेछ। यो पहिलो प्रयासले देखाएको छ की सहकारी पनि स्मार्ट हुन सक्छ, डिजिटल हुन सक्छ र स्थानीय उत्पादनलाई वैश्विक बनाउने सपना देख्न सक्छ।