कीवर्डहरू -

अब वेबसाइटबाटै गैरसरकारी संस्थाहरूको विवरण र कार्यक्रम हेर्न सकिने

अब वेबसाइटबाटै गैरसरकारी संस्थाहरूको विवरण र कार्यक्रम हेर्न सकिने

समाज कल्याण परिषद्ले आफ्नो डिजिटल सेवा औपचारिक रूपमा सुरू गरेको छ। मंगलबार ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले परिषद्को एकीकृत वेबसाइट सार्वजनिक गरेकी थिइन्।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले राष्ट्रिय आवश्यकता र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई आग्रह गरिन्। उनले डिजिटल प्रणालीले सुशासन प्रवर्द्धन गर्नुका साथै सेवा प्रवाहलाई झन्झटरहित, पारदर्शी र प्रभावकारी बनाउन टेवा पुर्‍याउने विश्वास व्यक्त गरिन्।

परिषद्ले ipact.swc.org.np वेबसाइट सञ्चालनमा ल्याएको हो। नयाँ प्रणालीमार्फत विकाससम्बन्धी परियोजनाहरू, गैरसरकारी संस्थाहरूको विवरण तथा विभिन्न कार्यक्रमहरूलाई वर्गीकृत रूपमा अनलाइन अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ।

हाल परिषद्मा ५८ हजारभन्दा बढी गैरसरकारी संस्था आवद्ध रहेका छन्। अब ती संस्थाहरूले पेश गर्ने परियोजना फाइलहरू प्रविधिमैत्री ढंगले अनलाइन दर्ता, स्वीकृति तथा अनुगमन गर्न सक्नेछन्। साथै, गैरसरकारी संस्थाहरूले कार्यान्वयनमा ल्याएका तथा पाइपलाइनमा रहेका कार्यक्रमहरू समेत एउटै प्लेटफर्मबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।

डिजिटल सेवा सुरू भएसँगै परिषद्को कार्यप्रणाली थप व्यवस्थित, पारदर्शी र जवाफदेही बन्ने अपेक्षा गरिएको छ।