कीवर्डहरू -

बजार मूल्य ५ ट्रिलियन अमेरिकी डलर पुग्ने विश्वकै पहिलो सार्वजनिक कम्पनी बन्यो एनभिडिया

बजार मूल्य ५ ट्रिलियन अमेरिकी डलर पुग्ने विश्वकै पहिलो सार्वजनिक कम्पनी बन्यो एनभिडिया

बजार मूल्य ५ ट्रिलियन अमेरिकी डलर पुग्ने एनभिडिया विश्वकै पहिलो सार्वजनिक कम्पनी बनेको छ । बुधबार कम्पनीको सेयर मूल्य ५.६ प्रतिशतले वृद्धि भएसँगै एनभीडीयाले नयाँ कीर्तिमानी कायम गरेको हो । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एनभिडियाका ब्ल्याकवेल चिप्सबारे छलफल गर्ने बताएका समाचार बाहिर आएपछि लगानीकर्तामा उत्साह बढेको हो ।

मंगलबार एनभिडिया प्रमुख कार्यकारी जेन्सेन हुआङले कम्पनीले करिब ५०० अर्ब डलर बराबरका एआई चिप बिक्री गर्ने अपेक्षा गरेको बताएका थिए । साथै, कम्पनीले अमेरिकामा सुरक्षा, ऊर्जा र विज्ञानजस्ता क्षेत्रमा प्रयोग हुने सात नयाँ सुपरकम्प्युटर निर्माण गरिरहेको उनले बताए । यी सुपरकम्प्युटरहरूमा हजारौं एनभिडियाका जीपीयु प्रयोग हुनेछन्।

त्यसैगरी, एनभिडियाले हालै १ अर्ब डलर नोकियामा लगानी गरेको छ र कम्पनीका केही उत्पादनहरू प्रयोग गरेर एआई नेटिभ फाइभजी एडभान्स र सिक्सजी विकास गर्न दूरसञ्चार सेवाप्रदायकहरूलाई सहयोग गर्ने जनाएको छ ।

केवल तीन महिनाअघि ४ ट्रिलियन डलरको सीमा पार गरेको एनभिडियाको सेयर मूल्य यस वर्ष मात्र ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।