प्राविधिक कम्पनी एनभिडियाले ओपनएआईमा १ सय अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने घोषणा गरेको छ। यस अन्तर्गत दुवै कम्पनीबीच एआइ मोडेलहरूको प्रशिक्षण र सञ्चालनका लागि विशाल डेटा सेन्टर निर्माण हुनेछ ।
सम्झौता अनुसार एनभिडियाले करिब १० गिगावाट बराबरको कम्प्युटिङ प्रणाली उपलब्ध गराउनेछ, जसले लाखौँ घरधुरीलाई आपूर्ति गर्न सक्ने विद्युत क्षमतासम्म पुग्नेछ।
यो लगानीले ओपनएआईलाई आफ्नो सबैभन्दा ठूलो लगानीकर्ता तथा क्लाउड सेवा प्रदायक माइक्रोसफ्टमा रहेको निर्भरता घटाउन सहयोग गर्ने बताइएको छ।
गत जनवरीमा माइक्रोसफ्टले ओपनएआईसँगको साझेदारीमा केही परिवर्तन गर्दै अन्य साझेदारहरूसँग पनि एआइ पूर्वाधार विकास गर्ने बाटो खोलिदिएको थियो। त्यसयता ओपनएआईले स्टारगेट लगायतका परियोजनामा विभिन्न साझेदारहरूसँग सहकार्य गरिरहेको छ।
एनभिडियासँग यस सहाकार्यबाट ओपनएआईले माइक्रोसफ्ट, ओरेकल र सफ्टबैंकसँग गरेका विद्यमान सहकार्यलाई पनि थप बल पुग्ने जनाएको छ।
ओपनएआईले एनभिडियालाई आफ्नो प्राथमिक रणनीतिक कम्प्युट र नेटवर्किङ साझेदारका रूपमा लिने जनाएको छ। तर लगानी नगद, चिप, क्लाउड क्रेडिट वा अन्य किसिममा उपलब्ध गराइने हो भन्नेबारे भने प्रष्ट विवरण दिइएको छैन।