विश्वकै सबैभन्दा ठूला चिप निर्मातामध्ये एक एनभिडियाले अमेरिकी सेमीकन्डक्टर कम्पनी इन्टेलमा ५ अर्ब डलर बराबरको सेयर किन्न सहमति गरेको छ ।
यसमार्फत एनभिडियाले इन्टेलको करिब ४ प्रतिशत हिस्सेदारी प्राप्त गर्नेछ । कम्पनीले प्रति सेयर २३.२८ डलर भुक्तानी गर्ने भएको छ, जुन पछिल्लो कारोबार मूल्यभन्दा केही कम हो ।
यो सम्झौतापछि इन्टेलका सेयर बिहीबारको प्रारम्भिक कारोबारमा झण्डै ३० प्रतिशतले बढेको छ । सम्झौता अन्तर्गत दुवै कम्पनीले डेटा सेन्टर र पर्सनल कम्प्युटरका लागि नयाँ पुस्ताका उत्पादनहरू संयुक्त रुपमा विकास गर्नेछन् ।
एनभिडिया र इन्टेलले आफ्नो आर्किटेक्चरलाई NVLink इन्टरफेसमार्फत एकीकृत गर्ने योजना बनाएका छन् । यो प्रविधि सीपीयू र जीपीयूबीच तीव्र गतिको डेटा तथा कन्ट्रोल कोड ट्रान्सफर गर्न सक्षम छ, जसले कृत्रिम बुद्धिमत्ताका विशाल कार्यभारसमेत छिटो प्रशोधन गर्न सहयोग पुर्याउँछ ।
डेटा सेन्टरका लागि इन्टेलले एनभिडियाको एआई इन्फ्रास्ट्रक्चर प्लेटफर्मलाई ध्यानमा राखी विशेष x86 सीपीयू उत्पादन गर्नेछ । त्यस्तै, उपभोक्ता पीसीका लागि इन्टेलले RTX जीपीयू चिपलेट समावेश गरिएको नयाँ x86 RTX SoC तयार गर्नेछ । यी चिपहरूले गेमिङदेखि उच्च प्रदर्शन कम्प्युटिङसम्मका विभिन्न पीसीहरूलाई शक्ति दिने दाबी गरिएको छ ।
इन्टेलका सीईओ लिप–बु टानले इन्टेलको अग्रणी डेटा सेन्टर र क्लाइन्ट कम्प्युटिङ प्लेटफर्मसहितको प्रोसेस टेक्नोलोजी र उत्पादन क्षमताले एनभिडियाको एआई तथा एक्सेलरेटेड कम्प्युटिङ नेतृत्वलाई थप सुदृढ गर्नेछ । यसले उद्योगमा नयाँ प्रविधिगत उपलब्धि ल्याउनेछ ।’
पछिल्ला केही वर्ष इन्टेलका लागि चुनौतीपूर्ण रहेका थिए । कम्पनीले नयाँ सीईओ नियुक्त, हजारौँ कर्मचारी कटौती गरेको र अनावश्यक परियोजना स्थगित गर्दै वित्तीय अनुशासनलाई प्राथमिकता दिएको थियो ।
त्यसैबेला, एनभिडियाले एआई चिपको अत्यधिक मागका कारण रेकर्ड नाफा कमाउँदै बजार पूँजीकरणका हिसाबले विश्वकै ठूला कम्पनीमध्ये एकको रूपमा स्थान बनाएको छ । यो साझेदारीले इन्टेललाई प्रतिस्पर्धी एएमडीबाट हराएको बजार हिस्सा पुनःआर्जन गर्ने अवसर दिने विश्लेषकहरूको भनाइ छ ।