जनमत पार्टीले पार्टीका सम्पूर्ण पदाधिकारीहरूलाई हरेक दिन एक पोस्ट पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोस्ट सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर वा एक्स, टिकटक आदि) मा गर्न निर्देशन दिएको छ ।
आइतबार बसेको केन्द्रीय सचिवालयको निर्णायानुसार जनमत पार्टीले आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउनका लागि पार्टीको सकारात्मक प्रचार-प्रसारमा अनिवार्य जोड्ने र त्यसलाई अनुगमन समेत गर्ने निर्णय गरेको हो ।
यस अनुसार अब पार्टीका सम्पूर्ण पदाधिकारीले हरेक दिन एक पोस्ट पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोस्ट सामाजिक सञ्जालमा गर्नुपर्नेछ । पोस्ट गरे-नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले अनुगमन गर्ने र मासिक रूपमा प्रतिवेदन पेस गर्नेछ ।
मासिक रूपमा २० वा बढी पोस्ट आए राम्रो, १०-२० आए औसत, ३-१० पोस्ट आए सामान्य र ३ भन्दा कम पोस्ट आए निष्क्रिय मानिने बैठकले निर्णय गरेको छ । सो मूल्याङ्कन अन्य जिम्मेवारी तोक्दा प्रयोग गरिनेछ, राम्रो गर्नेलाई पुरस्कृत गर्ने तथा निष्क्रिय हुनेलाई एक तह घटुवा गर्ने वा जिम्मेवारीबाट हटाउनेसम्मको सिफारिस गर्न सकिने निर्णयमा उल्लेख गरिएको छ ।
त्यसैगरी, पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरिहरूले २०८१ पुस मसान्तसम्ममा आ-आफ्नो सामाजिक सञ्जालको आईडी सामाजिक सञ्जाल अनुगमन समिति, पीएन माझीलाई जानकारी गराउनुपर्ने बताइएको छ।