ओपन एआईले एआईमा आधारित स्मार्ट डिभाइसहरूको श्रृंखला विकास गरिरहेको विवरण सार्वजनिक भएको छ। द इन्फर्मेशनको रिपोर्टअनुसार कम्पनीले स्मार्ट चस्मा, स्मार्ट स्पिकर र स्मार्ट ल्याम्प जस्ता हार्डवेयर उत्पादनमा काम गरिरहेको छ, जसका लागि २०० भन्दा बढी कर्मचारीको छुट्टै टोली खटाइएको छ।
रिपोर्टका अनुसार पहिलो उत्पादनका रूपमा क्यामेरा जडित स्मार्ट स्पिकर सार्वजनिक गर्ने तयारी छ। उक्त स्पिकरले प्रयोगकर्ताको वरपरको वातावरण र गतिविधि बुझ्न सक्ने क्षमता राख्ने बताइएको छ। स्रोतका अनुसार यसले टेबलमा रहेका वस्तुहरू पहिचान गर्नेदेखि स्पिकर वरपर भइरहेका कुराकानीसमेत बुझ्न सक्नेछ। साथै, यसमा एप्पलको फेस आईडी जस्तै अनुहार पहिचान प्रणाली रहनेछ, जसमार्फत प्रयोगकर्ताले खरिद प्रमाणीकरण गर्न सक्नेछन्।
यो स्मार्ट स्पिकरको मूल्य २०० देखि ३०० अमेरिकी डलरबीच हुने र सबैभन्दा छिटोमा सन् २०२७ को सुरुवाततिर बजारमा ल्याइने अपेक्षा गरिएको छ। स्मार्ट चस्मा भने हाल मेटा प्लेटफर्मको प्रभुत्व रहेको क्षेत्रमा प्रतिस्पर्धा गर्ने लक्ष्यसहित सन् २०२८ सम्ममा मात्रै आउने संकेत गरिएको छ। स्मार्ट ल्याम्पको प्रोटोटाइप तयार भए पनि व्यावसायिक रूपमा बजारमा ल्याइने वा नल्याइने विषयमा स्पष्टता छैन।
गत वर्ष ओपन एआईले पूर्व एप्पल डिजाइनर जोनी आईभको स्टार्टअप ‘io Products’ ६.५ अर्ब डलरमा अधिग्रहण गरेको थियो। आइभ एप्पलमा सन् १९९० दशकदेखि २०१९ सम्म कार्यरत रहँदै अधिकांश प्रमुख उत्पादनको डिजाइनमा संलग्न थिए। उक्त अधिग्रहणसँगै आइभले ओपनएआईका हार्डवेयर उत्पादन विकासको नेतृत्व गर्ने आधार तयार भएको छ।
यद्यपि, प्राविधिक जटिलता, गोपनीयतासम्बन्धी चिन्ता तथा ठूलो परिमाणमा एआई डिभाइस सञ्चालन गर्न आवश्यक कम्प्युटिङ क्षमतासम्बन्धी चुनौतीका कारण परियोजनामा ढिलाइ भएको जनाइएको छ। विज्ञहरूका अनुसार ‘सधैं सुन्ने र हेर्ने’ उपकरणप्रति उपभोक्ताको गोपनीयता चिन्ताले भविष्यका यी उत्पादनको बजार स्वीकृतिमा प्रभाव पार्न सक्नेछ।
आईसीटी समाचार