अनलाइन सर्चको क्षेत्रमा गूगलको एकाधिकार रहेको भन्ने गत वर्षको अदालतको फैसलाबाट कम्पनी गम्भीर निगरानीमा परेको छ । यद्यपि यो अवस्थामा यसका विशाल डिजिटल सेवाहरूको भविष्य अझै अनिश्चित देखिन्छ ।
गत महिना, अमेरिकी न्याय विभागले गुगलले आफ्नो क्रोम ब्राउजर बिक्री गर्नुपर्ने सुझाव दिएको थियो । यदि गुगलले क्रोम बिक्री गर्न चाह्यो भने त्यसलाई किन्न ओपन एआई इच्छुक देखिएको छ ।
ब्लूमबर्गको रिपोर्टअनुसार, आजको एक सुनुवाइमा च्याटजीपीटीका प्रमुख निक टरलीले गूगलको एकाधिकारसम्बन्धी मामिलामा बोल्दै क्रोम ब्राउजर ओपन एआईले खरिद गर्न चाहन्छ कि भन्ने प्रश्नमा किन्न चाहेको जवाफ दिएका थिए ।
हाल प्रयोगकर्ताहरूले क्रोम ब्राउजरमा प्लगइनमार्फत च्याटजीपीटी प्रयोग गर्न सक्छन्, तर टरलीका अनुसार यदि ओपन एआईले ब्राउजरको स्वामित्व पायो भने अझ गहिरो एकीकरण सम्भव हुनेछ ।
ओपन एआईको स्वामित्वमा क्रोमले प्रयोगकर्ताहरूलाई ‘एआई पहिलो अनुभव कस्तो हुन्छ भनेर देखाउने’ माध्यम बन्न सक्छ ।
क्रोम मात्रै होइन, गुगलले आफ्नो नियन्त्रण गुमाउन सक्ने अन्य क्षेत्रहरू पनि छन् । यसै महिनाको सुरुमा अर्का न्यायाधीशले गूगलले अनलाइन विज्ञापन प्रविधिमा समेत एकाधिकार व्यवहार गरेको ठहर गरेका थिए ।
गूगलले विगतका वर्षहरूमा विकास गरेका लोकप्रिय सेवाहरू जुनसुकै प्रविधि कम्पनीले पनि खरिद गर्न चाहनु स्वाभाविक हो । तर मुख्य प्रश्न यो हो: ती सेवाहरू अरूको हातमा जाँदा फेरि अर्को एकाधिकार त बन्ने होइन?
हालका लागि न्याय विभागले गुगललाई एआई क्षेत्रमा लगानी जारी राख्न अनुमति दिएको छ, तर यदि क्रोम एआईको स्वामित्वमा पुग्यो भने, थप चिन्ताहरू उठ्न सक्छन् ।