कीवर्डहरू -

खुला विश्वविद्यालयमा पत्रकारितामा प्रविधिको प्रयोग बारे अतिथि शत्र सञ्चालन

खुला विश्वविद्यालयमा पत्रकारितामा प्रविधिको प्रयोग बारे अतिथि शत्र सञ्चालन

नेपाल खुला विश्वविद्यालय अन्तर्गत सामाजिकशास्त्र तथा शिक्षा संकायको मास्टर इन मिडिया एण्ड कम्युनिकेशन स्टडिज कार्यक्रममा अध्ययनरत तेस्रो सेमेस्टरका विद्यार्थीहरूका लागि प्रिक्सा टेक्नोलोजीले ‘न्यू मिडिया र समाज’ विषयमा अनलाइन अतिथि शत्र सञ्चालन गरेको छ । 

उक्त कार्यक्रम मिडिया एण्ड कम्युनिकेशन स्टडिज कार्यक्रमको संयोजनमा तथा प्रिक्सा टेक्नोलोजीजको सहकार्यमा आयोजना गरिएको थियो । गेष्ट लेक्चर सत्रमा प्रिक्सा टेक्नोलोजीजका ‍ राजन काफ्‌ले र सुजल पौडेलले सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा भइरहेको तीव्र विकास, नवप्रवर्तन र त्यसको नेपाली सञ्चार माध्यममा भइरहेको प्रयोगबारे आफ्‌ना अनुभव तथा विश्लेषण प्रस्तुत गरेका थिए ।

राजन काफ्‌लेले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले पत्रकारितामा ल्याउन सक्ने परिवर्तनबारे प्रकाश पार्दै समाचार लेखन, तथ्य जाँच, डाटा विश्लेषण र पाठक लक्षित सामग्री वितरणमा यसको प्रभावकारिताबारे प्रकाश पारेका थिए । उनका अनुसार, एआईले पत्रकारितालाई थप छरितो, विश्लेषणात्मक र सन्दर्भअनुकूल बनाउन मद्दत गर्छ ।

त्यसैगरी सुजल पौडेलले पत्रकारिता क्षेत्रमा विकसित प्रविधिहरूको भूमिका र पत्रकारसँग प्रविधिको सहकार्यबारे विस्तृत रूपमा चर्चा गरेका थिए । प्रविधिले पत्रकारलाई विस्थापित गर्न खोजेको नभइ कामलाई सहज बनाउने उनको भनाइ थियो । 

नेपाल खुला विश्वविद्यालयको मास्टर इन मिडिया एण्ड कम्युनिकेशन स्टडिज कार्यक्रमका संयोजक विकास ढकालले अनलाइन अतिथि लेक्चर कार्यक्रम मार्फत विश्वविद्यालयले प्रविधिमैत्री सञ्चार शिक्षाको प्रवद्र्धनमा जोड दिएको स्पष्ट पारेका थिए । उनका अनुसार, यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई समयअनुकूल प्राविधिक सीप, समसामयिक दृष्टिकोण तथा डिजिटल साक्षरतामा दक्ष बनाउने उद्देश्य छ ।

प्रिक्सा टेक्नोलोजीजका प्रतिनिधि राजन काफ्लेले आगामी दिनहरूमा पनि नेपाल खुला विश्वविद्यालयको मिडिया एण्ड कम्युनिकेशन स्टडिज कार्यक्रम सँग सहकार्यलाई निरन्तरता दिँदै विद्यार्थीहरूको सीप अभिवृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

नेपाल सरकारले सन् २०१६ मा स्थापना गरेको नेपाल खुला विश्वविद्यालयले शिक्षालाई सबै नागरिकसम्म पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।

विशेषतः दूरदराजमा रहेका तथा नियमित कक्षा उपस्थित हुन नसक्ने विद्यार्थीहरूका लागि अनलाइन र दूरशिक्षा प्रणालीमार्फत उच्च शिक्षा प्रदान गर्दै आएको यो विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा मिडिया एण्ड कम्युनिकेशन स्टडिज  कार्यक्रम सञ्चालन गरिरहेको छ।