ओपनएआईले आफ्ना प्रयोगकर्ताबीच सिधा सन्देश आदानप्रदान गर्ने डायरेक्ट मेसेजिङ सुविधा च्याटजीपीटीभित्रै थप्ने तयारीमा रहेको जनाएको छ। कम्पनीले भर्खरै सोरा २ भिडियो जेनेरेसन मोडेल र टिकटोकजस्तो एआई भिडियो एप सार्वजनिक गरेपछि सामाजिक अन्तरक्रिया विस्तार गर्ने योजना अगाडि बढाएको हो।
यसै सन्दर्भमा यस महिनाको सुरुमा कम्पनीले एप्स एसडीके जारी गरेको थियो जसले डेभलपरहरूलाई च्याटजीपीटीभित्रै स्पेसलाइज्ड एआई एप बनाउने अनुमति दिनेछ। विश्लेषकहरूले यसलाई परम्परागत एप बजारहरूसँग सिधा प्रतिस्पर्धा गर्ने कदमका रूपमा मूल्याङ्कन गरेका छन्।
एआईपीआरएमका लिड इन्जिनियर टिबोर ब्लाहोले दिएको जानकारीअनुसार नयाँ डीएम सुविधाले प्रयोगकर्ताहरूलाई समूह च्याट, आइडिया ब्रेनस्टर्मिङ, प्रोजेक्ट योजनाकरण, अनलाइन सर्च तथा इमेज निर्माणसमेत मिलेर गर्न सहज बनाउनेछ। ब्लाहोले भनेका छन् कि प्रयोगकर्ताहरूलाई इनवाइट लिङ्कमार्फत समूहमा जोड्ने व्यवस्था उपलब्ध गराइने सम्भावना छ।
तर गोपनीयता र डाटा सुरक्षाका प्रश्न अझै अस्पष्ट छन्। कम्पनीले प्रयोगकर्ताको व्यक्तिगत च्याट मेमोरी अन्य प्रयोगकर्तालाई उपलब्ध गराइने छैन भनी बताएको भए पनि ती च्याटहरू एन्ड-टु-एन्ड इन्क्रिप्सनसहित आउने हुन् कि नआउने हुन् भन्ने विषय खुल्न बाँकी छ। यसले व्हाट्सएप वा सिग्नलजस्ता म्यासेन्जरहरूसँग तुलना उठाएको छ।
कम्पनीले अघिल्लो वर्ष शेयर फिचर लागू गर्दा केही प्रयोगकर्ताका निजी च्याटहरू गुगल सर्चमा सार्वजनिक हुने घटना भोगेको थियो। त्यसपछिको प्रक्रियामा सम्बन्धित सार्वजनिक डेटाहरू हटाउन कम्पनीलाई खोज इन्जिनसँग समन्वय गर्नु परेको थियो र सो घटनाले प्रयोगकर्ताबीच थप चिन्ता बढाएको थियो।
विशेषज्ञहरूको मत अनुसार च्याटजीपीटीमा सामाजिक र सञ्चार फिचर थप्दा प्रयोगकर्ता अनुभव सुधारिन सक्छ तर डेटा सुरक्षा र नियमनसम्बन्धी स्पष्ट र कडा नीति नआएसम्म जोखिम कायम नै रहनेछ। ओपनएआईको तर्फबाट उक्त सुविधाको आधिकारिक समयरेखा र सुरक्षा प्रावधानबारे पुष्टि अझै आउन बाँकी छ।