कीवर्डहरू -

ओपनएआई र जोनी आइभको एआई डिभाइस विकासमा चुनौती

ओपनएआई र जोनी आइभको एआई डिभाइस विकासमा चुनौती

ओपनएआई र एप्पलका पूर्व प्रमुख डिजाइनर जोनी आइभले संयुक्त रूपमा तयार गर्न लागेको नयाँ एआई डिभाइसमा प्राविधिक समस्या देखा परेको बताइएको छ। 

फाइनान्सियल टाइम्सका अनुसार, दुवै पक्षले स्क्रिनविहीन एआई डिभाइस विकास गर्ने क्रममा ठूला चुनौतीहरूको सामना गरिरहेका छन्।

गत मे महिनामा ओपनएआईले आइभ र स्याम अल्टम्यानद्वारा स्थापित ‘आईओ’ नामक डिभाइस स्टार्टअपलाई ६.५ अर्ब अमेरिकी डलरमा अधिग्रहण गरेको थियो। त्यसबेला अल्टम्यानले आइभ र उनको टोलीले एआई-समर्थित कम्प्युटरहरूको नयाँ पुस्ता तयार गर्न सहयोग गर्ने बताएका थिए। ब्लूमबर्गका अनुसार, उक्त सहकार्यबाट बन्ने पहिलो उपकरण सन् २०२६ मा बजारमा ल्याउने योजना थियो।

फाइनान्सियल टाइम्सको हालका विवरणअनुसार, आइभ र ओपनएआईले ‘हातमा समाउन सकिने, स्क्रिनविहीन उपकरण’ बनाउने लक्ष्य राखेका छन्, जसले वातावरणका ध्वनि र दृश्य संकेतहरूबाट प्रयोगकर्तासँग अन्तरक्रिया गर्नेछ। 

तर उपकरणको व्यक्तित्व, गोपनीयता र कम्प्युटिङ इन्फ्रास्ट्रक्चरसम्बन्धी नसुल्झिएका विषयले परियोजनाको समयरेखा पछि सार्न सक्ने संकेत देखिएको छ।

यो उपकरण प्रयोगकर्ताको स्पष्ट आदेश पर्खेर होइन, ‘सधैं चालु रहने’ (always on) प्रणालीमा आधारित हुनेछ। तर, उपकरणले कहिले प्रयोगकर्तालाई प्रतिक्रिया जनाउने र कहिले संवाद अन्त्य गर्ने भन्ने सन्तुलन कायम गर्न टोलीले कठिनाइ भोगिरहेको बताइएको छ।

यदि यी प्रविधिक समस्या समाधान भए, ओपनएआई र जोनी आइभको सहकार्यले भविष्यको एआई कम्प्युटिङ प्रविधिमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।