ओपनएआईले रियो (Rio) नामक स्टार्टअप अधिग्रहण गरेको छ। यसपटक एआई कम्पनीले प्रयोगकर्तालाई आफ्ना सम्पूर्ण वित्तीय पोर्टफोलियो एकै ठाउँमा व्यवस्थापन गर्न र व्यक्तिगत लगानी सल्लाह दिने एआई च्याटबोट प्रयोग गर्न सुविधा दिने रियो खरिद गरेको हो।
अधिग्रहणसम्बन्धी वित्तीय विवरण सार्वजनिक गरिएको छैन, तर टेकक्रन्चका अनुसार स्टार्टअपका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजिथ विष्वजीत मात्र ओपनएआईको टोलीमा सहभागी हुने भएका छन्।
ओपनएआईको यो कदमले कम्पनी व्यक्तिगत वित्तीय क्षेत्रमा प्रवेश गर्न खोजिरहेको सङ्केत दिएको छ। यसबाट भविष्यमा कम्पनीले अझ व्यक्तिगत र प्रयोगकर्तामुखी एआई सहायक (proactive assistant) विकास गर्ने योजना बनाइरहेको संकेत देखिन्छ। यो कुरा कम्पनीले हालै सार्वजनिक गरेको ‘Pulse’ नामक एआई सेवाको ब्लगपोस्टमा पनि झल्किएको छ।
ओपनएआईले यसअघि पनि आफ्ना उत्पादन क्षमतामा सुधार ल्याउने उद्देश्यले साना कम्पनीहरू अधिग्रहण गर्दै आएको छ। गत मे महिनामा कम्पनीले एप्पलका पूर्व–डिजाइनर जोनी आइभ सह–संस्थापक रहेको एआई हार्डवेयर स्टार्टअप आईओलाई ६.५ अर्ब अमेरिकी डलरमा किनेको थियो। त्यसपछि सेप्टेम्बरमा ओपनएआईले उत्पादन परीक्षणमा केन्द्रित स्ट्याटसिग नामक स्टार्टअपलाई १.१ अर्ब अमेरिकी डलरमा अधिग्रहण गरेको थियो।