च्याटजीपीटी बनाउने अमेरिकी कम्पनी ओपनएआई भारतमा आफ्नो उपस्थितिलाई मजबुत पार्दैछ । ब्लूमबर्गको रिपोर्टअनुसार, कम्पनीले स्थानीय पार्टनरहरूसँग मिलेर कम्तीमा एक गीगावट क्षमता भएको डाटा सेन्टर बनाउने योजना बनाइरहेको छ। यद्यपि, यसको स्थान र समयसीमा अहिलेसम्म तय गरिएको छैन।
माइक्रोसफ्टको सहयोगमा ओपनएआईले भारतमा आफूलाई एक कानुनी एंटिटी (लीगल एण्टिटी) को रूपमा दर्ता गराएको छ र स्थानीय टिम निर्माण गर्न थालेको छ। अगस्टमा कम्पनीले चाँडै नयाँ दिल्लीमा आफ्नो पहिलो कार्यालय खोल्ने घोषणा गरेको थियो । भारत अमेरिकापछि ओपनएआईको दोस्रो सबैभन्दा ठूलो बजार हो।
ओपनएआईले हालै भारतको शिक्षा क्षेत्रमा ध्यान दिँदै ठूलो कदम उठाएको छ। कम्पनीले ५ लाख विद्यार्थी र शिक्षकलाई ६ महिनाका लागि निःशुल्क च्याटजीपीटी लाइसेन्स उपलब्ध गराउने घोषणा गरेको छ ।
यो कार्यक्रम सरकारी विद्यालयहरू (कक्षा १ देखि १२ सम्म), इन्जिनियरिङ र प्राविधिक संस्थानहरू र के-१२ एजुकेटरहरूलाई समेट्नेछ। यसलाई ओपनएआई लर्निङ एक्सेलेरेटर नाम दिइएको छ, र यो विशेषगरी भारतका लागि डिजाइन गरिएको कार्यक्रम हो।
ओपनएआईले यी निःशुल्क लाइसेन्सहरू भारतको शिक्षा मन्त्रालय, एआईसीटीई (अल इन्डिया काउन्सिल फोर टेक्निकल एजुकेशन) र एसोसिएसन फर रिइनभेन्टिङ स्कूल एजुकेशन (एआरआईएसई) को सहयोगमा वितरण गर्नेछ।