मोबाइल फोनको दुनियाँमा ठूलो परिवर्तन हुनसक्ने सम्भावना छ। एआईको दिग्गज कम्पनी ओपनएआई ओहिले सफ्टवेयरपछि हार्डवेयर दुनियाँमा पाइला चाल्ने तयारीमा छ।
रिपोर्टअनुसार ओपनएआईले आफ्नो पहिलो एआई-पावर्ड डिभाइस लन्च गर्न लागिरहेको छ, जसको कोडनेम गमड्रप राखिएको छ। कम्पनीको दाबी छ कि यो सानो ग्याजेट भविष्यमा आइफोन को स्थान लिन सक्छ।
यस ग्याजेट कस्तो हुनेछ र के के विशेषताहरु छन्?
यो स्क्रिनरहित ग्याजेटलाई विशेष बनाउन कम्पनीले एप्पलका पूर्व प्रमुख डिजाइन अफिसर जोनी आइव सँग मिलेर काम गरिरहेको छ। उनले पहिले आइफोन र आइपड डिजाइन गरीसकेका छन्।
पहिला यसलाई चिनियाँ कम्पनी लक्सशेयरले बनाउन सक्ने कुरा थियो, तर सुरक्षा चिन्ताका कारण अहिले यसको जिम्मा फक्सकनलाई दिइएको छ। यसको म्यानुफ्याक्चरिङ वियतनाम वा अमेरिका मा हुने सम्भावना छ। यो स्क्रिन नभए पनि क्यामेरा र सेन्सरको सहयोगले तपाईंका धेरै आवश्यकताहरू पूरा गर्नेछ र २०२६–२७ भित्र बजारमा आउनसक्छ।
स्क्रिन नभएर कसरी काम गर्ने?
गमड्रप आकारमा आइपड शफल जस्तो सानो हुनेछ, तर यसमा स्क्रिन हुनेछैन। यस डिभाइसमा हाई-टेक क्यामेरा र माइक्रोफोन र सेन्सरहरू रहनेछन्, जसले वरिपरि भएको वातावरण हेर्न र सुन्न सक्षम हुनेछ। साथै तपाईंले हातले लेखेको नोट (ह्याण्डराइटिङ) पनि चिनेर तत्काल डिजिटल टेक्स्टमा परिवर्तन गरेर चैटजीपीटीमा अपलोड गर्ने सुविधा हुनेछ।
यो ग्याजेट ओपनएआईका सबैभन्दा शक्तिशाली एआई मोडेलहरू सिधै उपकरणभित्र चलाउनेगरी डिजाइन गरिएको छ। जब बढी प्रोसेसिङ पावर चाहिन्छ, तब यो स्वतः क्लाउडसँग जोडिनेछ। यसलाई वेयरएबल र पोर्टेबल दुवै रुपमा प्रयोग गर्न सकिन्छ।
के साँच्चै स्मार्टफोनको क्रेज समाप्त हुनेछ?
ओपनएआईको दृष्टि अनुसार भविष्यमा मानिसहरूलाई ठूलो स्क्रिन भएका उपकरणको आवश्यकता कम हुन्छ। गमड्रपको उद्देश्य एआई-आधारित उत्पादकता यति सजिलो बनाउनु हो कि मानिसहरू फोनको सट्टा यो सानो ग्याजेटबाट आफ्ना इमेल, मेसेज र कलहरू व्यवस्थित गर्न सकून्। यो डिभाइस अन्य स्मार्ट उपकरणहरूसँग पनि कुराकानी गर्न सक्षम हुनेछ, जसले यसलाई व्यक्तिगत असिस्टेन्टको रूपमा काम गर्ने बनाउनेछ।
आईसीटी समाचार