कीवर्डहरू -

ओपनएआईले सार्वजनिक गर्‍यो एजेन्टकिट, एआई एजेन्ट निर्माण र सञ्चालन सजिलो बनाउने लक्ष्य

ओपनएआईले सार्वजनिक गर्‍यो एजेन्टकिट, एआई एजेन्ट निर्माण र सञ्चालन सजिलो बनाउने लक्ष्य

ओपनएआईका प्रमुख कार्यकारी अधिकारी स्याम आल्टम्यानले सोमबार कम्पनीको डेभ डे कार्यक्रममार्फत एजेन्टकिट नामक नयाँ टुलकिट सार्वजनिक गरेका छन्। यो टुलकिटको उद्देश्य एआई एजेन्टहरू निर्माण, तैनाथ र सञ्चालन गर्न सजिलो र छिटो बनाउनु रहेको छ।

‘एजेन्टकिट ओपनएआई प्लेटफर्ममा उपलब्ध पूर्ण बिल्डिङ ब्लकहरूको सेट हो, जसले एजेण्टहरूलाई प्रोटोटाइपबाट उत्पादनसम्म पुर्‍याउन सहयोग गर्छ,’ आल्टम्यानले भने, ‘यसले एजेन्ट वर्कफ्लो निर्माण र अनुकूलनमा लाग्ने समय र झन्झटलाई निकै कम गर्छ।’

एजेन्टकिटको शुभारम्भले ओपनएआईले डेभलपरहरूको संलग्नता बढाउने र एआई एजेन्ट निर्माणलाई सहज बनाउने दिशामा गरेको ठुलो कदमका रूपमा हेरिएको छ। यसले अन्य प्रतिस्पर्धी एआई प्लेटफर्महरूलाई चुनौती दिने अपेक्षा गरिएको छ, जसले स्वतन्त्र रूपमा काम गर्न सक्ने एआई एजेन्ट विकासमा जोड दिएका छन्।

एजेन्टकिटका केही प्रमुख विशेषताहरूमा एजेन्ट ब्युल्डर, च्याटकिट, इभल्स फर एजेन्ट र कनेक्टर रेजिष्टरी समावेश छन्।

एजेन्ट ब्युल्डरलाई आल्टम्यानले ‘एजेन्ट निर्माणका लागि क्यान्भा जस्तो’ भनेका छन्। यसको माध्यमबाट डेभलपरहरूले छिटो र दृश्यात्मक रूपमा एजेन्टको तर्क, चरण र विचारहरू डिजाइन गर्न सक्छन्। यो टुल ओपनएआईको प्रतिक्रिया एपीआई (Responses API) माथि निर्माण गरिएको हो, जसलाई हाल हजारौं डेभलपरहरूले प्रयोग गर्दै आएका छन्।

च्याटकिटले डेभलपरहरूलाई आफ्नो एपमा सीधै एम्बेड गर्न मिल्ने च्याट इन्टरफेस उपलब्ध गराउँछ। ‘तपाईं आफ्नै ब्रान्ड, वर्कफ्लो र विशेषता अनुसार यसलाई कस्टमाइज गर्न सक्नुहुन्छ,’ आल्टम्यानले भने।

इभल्स फर एजेन्टले एआई एजेन्टको प्रदर्शन मापन गर्न प्रयोग हुने नयाँ उपकरणहरू प्रदान गर्छ। यसमा ट्रेस ग्रेडिङ, डेटासेट मूल्यांकन, स्वचालित प्रम्प्ट अनुकूलन, र बाह्य मोडलमा मूल्यांकन चलाउने सुविधा पनि सामेल छन्।

अन्तिम सुविधा कनेक्ट रेजिष्ट्ररी हो, जसले डेभलपरहरूलाई आफ्ना आन्तरिक प्रणाली र तृतीय-पक्ष उपकरणहरूसँग सुरक्षित रूपमा एजेन्ट जोड्न दिनेछ। यसमा सुरक्षा र नियन्त्रण कायम राख्नका लागि ‘एडमिन कन्ट्रोल प्यानल’ पनि प्रदान गरिएको छ।

डेभ डे कार्यक्रममा ओपनएआईकी इन्जिनियर क्रिस्टिना हुआङले मञ्चमै आठ मिनेटभित्र दुई वटा एआई एजेन्ट र पूरा कार्यप्रवाह (workflow) तयार गरेर एजेन्टकिटको सरलता प्रदर्शन गरिन्।

‘जब हामीले पहिलोपटक एजेन्ट बनाउन खोजिरहेका थियौं, यस्तै टुलहरूको आवश्यकता महसुस गरेका थियौं,’ आल्टम्यानले भने । उनका अनुसार ओपनएआईले पहिल्यै केही साझेदार कम्पनीहरूसँग सहकार्य गरी एजेन्टकिटमार्फत ठूला स्तरमा एजेन्ट स्केल गर्न सुरु गरिसकेको छ।