कीवर्डहरू -

टिकटक, रिल्स र शर्ट्ससँग प्रतिस्पर्धा गर्न ओपनएआईले ल्यायो सोरा एप, एआई जेनेरेटेड भिडियो शेयर गर्न सकिने

टिकटक, रिल्स र शर्ट्ससँग प्रतिस्पर्धा गर्न ओपनएआईले ल्यायो सोरा एप, एआई जेनेरेटेड भिडियो शेयर गर्न सकिने

एआई कम्पनी ओपनएआईले मंगलबार आफ्नो नयाँ भिडियो र अडियो जेनेरेटर ‘सोरा २’ सार्वजनिक गरेको छ । यसअघि आएको सोरा मोडेलको उत्तराधिकारीका रूपमा आएको यो संस्करणले अझ यथार्थपरक भिडियो निर्माण गर्न सक्ने दाबी गरिएको छ ।

नयाँ मोडेलसँगै कम्पनीले ‘सोरा’ नामको सामाजिक एप पनि ल्याएको छ, जसमा प्रयोगकर्ताले आफैं र आफ्ना साथीहरूको भिडियो सिर्जना गरी टिकटक जस्तै एल्गोरिदमिक फिडमा साझा गर्न सक्नेछन् ।

ओपनएआईले शेयर गरेको उदाहरण अनुसार, सोरा २ ले भौतिकशास्त्रका नियमहरूलाई अझ राम्रोसँग पालना गर्ने भएकाले भिडियोहरू यथार्थपरक देखिन्छन् । सार्वजनिक गरिएको क्लिपहरूमा समुद्र किनारको भलिबल खेल, स्केटबोर्ड ट्रिक, जिम्नास्टिक्स र पौडी खेलमा क्याननबल जम्पजस्ता दृश्य देखाइएको छ ।

कम्पनीको भनाइमा, अघिल्ला भिडियो मोडेलहरूले वस्तुहरूलाई अस्वाभाविक रूपमा बदल्ने वा हराउने समस्या देखाउँथे, तर सोरा २ मा त्यस्तो हुँदैन । उदाहरणका लागि, खेलाडीले बास्केटबल मिस गर्दा बल आफैं हुपमा पुग्दैन, बरु ब्याकबोर्डमा ठोक्किन्छ ।

सोरा एपमा केमियोस सुविधा

सोरा एपमा आएको ‘Cameos’ सुविधा प्रयोगकर्ताले आफूलाई वा साथीलाई कुनै पनि सोरा-जेनेरेटेड दृश्यमा राख्न सक्ने सुविधा हो ।

यसको लागि प्रयोगकर्ताले एकपटक भिडियो र अडियो रेकर्डिङ अपलोड गरी आफ्नो पहिचान पुष्टि गर्नुपर्नेछ । यस सुविधामार्फत साथीहरूले पनि एक–अर्काको रूपलाई भिडियोमा प्रयोग गर्न अनुमति दिन सक्नेछन् ।

उपलब्धता र प्रयोग

सोरा एप अहिलेलाई आमन्त्रण-आधारित (invite-only) भए पनि च्याटजीपीटी प्रो प्रयोगकर्ताले सोरा २ प्रो मोडेल सिधै प्रयोग गर्न सक्नेछन् । एप अहिले आईओएसमा अमेरिकामा र क्यानडामा मात्र उपलब्ध छ, तर चाँडै अन्य मुलुकमा विस्तार गर्ने योजना कम्पनीले जनाएको छ ।

सुरुमा एप नि:शुल्क रहनेछ । कम्पनीले प्रयोगकर्ताले बढी माग भएको समयमा अतिरिक्त भिडियो सिर्जना गर्न शुल्क तिर्नुपर्ने उल्लेख गरेको छ ।

सुरक्षा चुनौती

सोरा एपमा प्रयोगकर्ताले आफ्नो रूप (likeness) को पहुँच जुनसुकै बेला फिर्ता लिन सक्ने भए पनि दुरुपयोगको खतरा कायम रहने बताइएको छ । विश्वास गरेका साथी वा परिचितले पनि दुरुपयोग गरेर भ्रामक वा हानिकारक सामग्री बनाउन सक्ने सम्भावना कम्पनीले स्वीकार गरेको छ ।

एपमा अभिभावक नियन्त्रण (Parental Controls) सुविधा पनि राखिएको छ, जसअन्तर्गत अनन्त स्क्रोल सीमित गर्ने, व्यक्तिगत एल्गोरिदमिक सुझाव बन्द गर्ने वा बच्चालाई सन्देश पठाउन सक्ने व्यक्तिलाई व्यवस्थापन गर्ने सुविधा हुनेछ । तर, यो सुविधा अभिभावकको प्रविधि ज्ञानमा निर्भर हुने बताइएको छ ।